काठमाडौं : काठमाडौं उपत्यकाको फोहोरमैला आउँदो फागुनदेखि बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइट लैजाने तयारी भएको छ । नुवाकोटको ककनी–२, बन्चरेडाँडामा निर्माणाधीन ल्यान्डफिल साइटको सेल नं. १ माघ अन्तिमसम्म तयार हुने जनाइएको छ ।
आगामी फागुन १ देखि फोहोरमैला व्यवस्थापन गर्न दिने तयारी भइरहेको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । बन्चरे डाँडा काठमाडौँबाट २७ किलोमिटर उत्तरपश्चिममा पर्छ ।
विभागका महानिर्देशक मणिराम गेलालका अनुसार तत्काल फोहोर व्यवस्थापनका लागि तयार पार्नुपर्ने भएकाले यो ल्यान्डफिल साइट दुई भागमा विभाजन गरी निर्माण हुँदैछ । पहिलो चरणमा सेल नं. १ मा फोहोर व्यवस्थापन गर्दै सेल नं. २ को बाँकी काम गरिनेछ । अब कुनै पनि बहानामा काम नरोकी समयमै निर्माण सम्पन्न गरी व्यवस्थापनका लागि हस्तान्तरण गरिने विभागका अधिकारीहरू बताउँछन् ।
स्यानिटरी ल्यान्डफिल साइटले बाहिरी क्षेत्रसहित एक हजार सात सय रोपनी जमिन ओगटेको महानिर्देशक गेलालले जानकारी दिनुभयो । त्यसमध्ये १०४ रोपनी क्षेत्रफल जमिनमा फोहोर फाल्ने सेल बनाइनेछ । जमिनको भागमध्ये ४० प्रतिशत भागमा हाल ल्यान्डफिल साइटको सेल नं. १ तयार हुँदैछ ।
लेदो सङ्कलन गर्न साइटको बाहिरपट्टि दुईवटा पोखरी बनाइनेछ । पोखरीमा जम्मा भएको लेदो प्रशोधन गरेर मात्र खोलामा पठाइनेछ । फोहोरबाट निस्कने ग्यास सङ्कलन गर्न पनि पाइप बिछ्याइनेछ ।यस ल्यान्डफिल साइटले हाल सिसडोलमा फालिँदै आएको फोहोर २० वर्षसम्म धान्ने प्राविधिकहरू बताउँछन् ।
गएको वैशाखदेखि निर्माण सुरु भएको बन्चरेडाँडा ल्यान्डफिल साइटमा मङ्सिरदेखि नै फोहोर लैजान दिने विभागको योजना थियो । निर्माण ढिला हुँदा क्षमता सकिएको सिसडोलमा नै उपत्यकाका १८ वटा नगरको फोहोरमैला व्यवस्थापन हुँदै आएको छ । लुम्बिनी–कोसी–न्यौपाने जेभीले ३५ करोड रुपियाँको लागत सम्झौतामा बन्चरेडाँडा ल्यान्डफिल साइट निर्माण गरिरहेको छ ।
राज्यमन्त्रीले नियमित अनुगमन गर्ने
सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बन्चरेडाँडा ल्यान्डफिल साइट निर्माण आफ्नो मन्त्रालयको प्राथमिकताप्राप्त योजना रहेको बताउनुभएको छ । शुक्रबार निर्माणाधीन ल्यान्डफिल साइट अनुगमन गर्दै उहाँले समयमै निर्माण सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिनुभयो ।
हरेक हप्ता आफू ल्यान्डफिल साइट निर्माणको स्थलगत अनुगमनमा आउने राज्यमन्त्री मानन्धरले बताउनुभयो । साथै सिसडोल र बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दाको समस्या र मागलाई पनि यथासम्भव पूरा गर्ने प्रयास गरिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।
स्थानीयवासीको आशङ्का
बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइट तयार भएसँगै गएको १४ वर्षयता थुपारिएको फोहोरले जनस्वास्थ्य र कृषिमा गम्भीर असर पु¥याएको भन्दै सिसडोलवासीले गर्दै आएको गुनासो सम्बोधन हुने अपेक्षा गरिएको छ । तर यो स्यानिटरी ल्यान्डफिल साइटको वैज्ञानिक व्यवस्थापनबारे स्थानीयवासी विश्वस्त छैनन् । शान्ति लामाले गोरखापत्रमा समाचार लेख्नुभएको छ ।