अंग्रेजी नयाँ वर्षको दिन देशैभर दिपावली गर्न सरकारको आग्रह

काठमाडौं : नेपाल भ्रमण वर्ष २०२० को उद्घाटनका दिन देशभर दीपावली गर्न सरकारले आग्रह गरेको छ । १६ गते बुधबार (जनवरी १) भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्ने दिन सबै नेपालीसहित विदेशस्थित नेपाली नियोग, गैरआवासीय नेपाली संघ–संस्थालगायत सरोकारवाहरूलाई त्यो दिन दीपावली गरेर उज्यालो बनाउन सरकारले भनेको हो ।

भ्रमण वर्ष २०२० को शुभारम्भ तयारीबारे जानकारी दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सोमबार पत्रकार सम्मेलन गरी मुलुक उज्यालोतर्फ गएको सन्देश दिन घरघरमा दीपावली गर्न आग्रह गर्नुभएको हो । जनवरी १ मा काठमाडौंस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्ष शुभारम्भ भएको घोषणा गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भने विशेष सम्बोधन गर्नुहुनेछ । मन्त्री भट्टराईले उक्त दिन सातै प्रदेशमा भ्रमण वर्ष शुभारम्भको तयारी पनि पूरा भएको जानकारी दिनुभयो । जनवरी १ मा विराटनगर, जनकपुर, सौराहा, लेकसाइड, बर्दिया, बुलबुल ताल र धनगढीमा सम्बन्धित प्रदेश सरकारले पनि पर्यटन भ्रमण वर्षको उद्घाटन गर्नेछन् ।

मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नेपाललाई प्रमुख गन्तव्यको मुलुकका रूपमा स्थापित गर्दै रोजगारी सिर्जना र आर्थिक समृद्धितर्फ अगाडि बढाउन भ्रमण वर्ष फलदायी हुने बताउनुभयो । संख्यात्मक मात्र नभई गुणात्मक पर्यटकतर्फ पनि ध्यान दिइएको उहाँको भनाई छ ।

भ्रमण वर्ष २०२० का राष्ट्रिय संयोजक सुरज वैद्यले जनवरी १ मा हुने उद्घाटन कार्यक्रमको तयारी पूरा भएको बताउनुभयो । कार्यक्रममा विभिन्न देशबाट आउने मन्त्रीसहित सातै प्रदेशका मुख्यमन्त्री, प्रमुख दलका नेताहरूको पनि मन्तव्य रहनेछ । उद्घाटनमा धार्मिक, संस्कृति झल्कने सांस्कृतिकसहितका कार्यक्रम प्रस्तुत गर्ने तयारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार