बालबालिका झगडा गरे भनेर मोबाईल, ल्यापटप दिनुहुन्छ ? यसले दृष्टि नै गुम्न सक्छ

काठमाडौं : सानै उमेरमा पावरवाला चश्मा लगाउनु पर्ने बाध्यता बढ्दै गएको छ । बालकालमै त्यस्तो चश्मा लगाएको देख्दा हामी छक्क मान्छौं र सानो उमेरमा नै आँखा कमजोर हुनु हामीलाई असान्य लाग्छ । तर, नेपालमा हरेक दिन ७ जना बालबालिकाले आँखाको देख्ने क्षमता गुमाउने गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले देखाउँछ । यसमा बालबालिका भन्दा अभिभावकको दोष बढी देखिन्छ । कसरी ? नेपाल न्युज साइटका लागि करिष्मा के.सीले नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका मेडिकल निर्देशक कमल बहादुर खड्कासंग कुराकानी गर्नुभएको छ ।

के कारणले बलबालिकाको आँखाको ज्योति गुम्ने वा कमजोर हुने समस्या देखिन्छ ?
सुरुमै हामीले आँखा जाँच ग¥यौं भने आँखाको ज्योति नै गुम्ने सम्भावना कम हुन्छ । तर, हाम्रो अज्ञानता भनौ वा अविभावकको अज्ञानता निकै समस्या नै परेपछि मात्र आँखा जाँच गर्ने चलन छ । बालबालिकालाई स्कुल भर्ना गर्नुभन्दा अगाडि उनीहरुको दृष्टि चेकजाँच गरेर मात्र पठाउने पक्रिया हुँदो हो त यो समस्या एकदमै कम हुन्थ्यो होला ।

तर त्यसो गरेको पाईदैन । विद्यालयमा बालबालिकाको भिजन चेक गर्ने कुनै नियम छैन । त्यसले गर्दा यस्तो किसीमको अज्ञानताका कारण पनि बालबालिकाको देख्ने शक्ति कम भएर जाने गर्छ । अर्को कुरा बालबालिकाले एउटा आँखाले देखेको र अर्को आँखाले नदेखेको हुन सक्छ । मेडिकल भाषामा एम्ब्लायोपिया भनिन्छ यो समस्या ठिक गर्न सात वर्षको उमेर भित्रमा प्याक्चिन थेरापी गर्न सक्यो भने मात्र सम्भव छ । त्यसैले बालबालिकाको आँखाको ज्योति गुम्न नदिनको लागि विद्यायल भर्ना गर्नु भन्दा अगाडि उनीहरुको दृष्टि जाँच गर्नुपर्छ ।

पछिल्लो समय अविभावकहरु झन् बढी सचेत र पढेलेखेका छन् तर पनि किन यस्ता समस्याहरु बढीरहेका छन् ?
अभिभावकहरुमा सचेतना बढेसंगै केही हदसम्म यस्ता समस्याहरु कम पनि भईरहेका छन् । किनभने कत्ति विद्यालयहरुमा त भर्ना हुनुभन्दा अगाडि बालबालिकाको दृष्टी जाँच गरेको प्रमाण अनिवार्य गरिएको छ । कतिपय अभिभावक सचेत भएर पनि यस्ता कुरामा ख्याल नपुगेको हुन सक्छ । तर विद्यालयमा नै यस्तो व्यवस्था भयो भने यो धेरै हदसम्म कम हुन आउँछ ।

शहरी क्षेत्र र ग्रामीण भेग सबैतिर यस्ता खालको सचेतना पुर्याउन अत्यावश्यक छ । देशब्यापी रुपमा बालबालिकाको दृष्टि जाँचबारे अभिभावक र विद्यालयलाई सचेत गराउन सके मात्र यो समस्यामा कमी आउँछ । कतिपय अभिभावको चेतनामा त यस्ता कुरा पसेकै छैन त्यसकारण यसमा ध्यान दिनु जरुरी छ ।

सन्तानले जति सानो उमेरमा मोबाइल, ल्यापटप, ट्याब चलाउन जान्यो अभिभावक त्यति नै खुशी हुने गरेको पाइन्छ । बालबालिकाको आँखाका लागि यी कुराहरु कत्तिको जोखिमयुक्त हुन् ?
एकदमै राम्रो कुरा गर्नु भयो तपाईले । मैले कतिपय ठाउँको गाउँगाउँमा गएर आँखाको शिविर पनि गरेर आएको छु । साथै नेपाल आँखा अस्पतालमा रहेर पनि काम गरीरहेको हिसाबले पनि म आपंmैले पनि यस्ता घटनाहरु देख्छु । अहिले यस्ता विद्युतिय सामग्री हरेक ठाउँमा छ ।

मैले कस्तो पनि देखेको छु भने आमालाई काम गर्नु प¥यो बच्चा रोयो भने उसलाई मोबाईल वा आईप्याड दिएर फकाउने गरिन्छ । तर, यो सारै घातक कुरा हो । स्क्रिन भएको चिजहरु जस्तै ल्यापटप, टेलिभिजन, मोबाइलजस्ता समग्रीबाट एक प्रकारको विकिरण आईरहेको हुन्छ । त्यसले आँखामा लुब्रिकेट गर्ने आँशु कम गरिदिन्छ र आँखालाई सुख्खा बनाइदीन्छ । आँखा सुख्खा भइसकेपछि यसले आँखामा पछि घाउ हुने अल्सर भन्छौ हामी घाउ भईसकेपछि दुख्ने, चिलाउने, पोल्ने सबै हुन्छ र साधारण शब्दमा भन्नुपर्दा फुलो पर्न जान्छ । कालान्तरमा गएर दृष्टिबीहीन नै बनाईदिन सक्छ ।

यस्ता कुराबाट टाढा राख्न बालबालिकाप्रति अभिभावकहरुको भूमिका कस्तो हुनुपर्छ ?
यसमा एकदमै चनाखो हुने भने कै अभिभावक हो । रोएको बच्चा खुशी हुन्छ भनेर आफ्नो सजिलो हेर्ने भन्दा पनि आफ्नो बालबालिकाको भविष्यमा ध्यान दिनुपर्छ । समयमै चनाखो भएर यस्ता कुरामा अभिभावकहरु गम्भीर हुनुपर्छ ।

जंक फुडका कारण पनि बालबालिकाको आँखामा असर पुर्याउँछ भनिन्छ, के यो साँचो हो ?
यो एकदम सही कुरा हो । किनभने जंकफुड भनेको बाहीर बनेको कुरा हो । यो मानिसको स्वास्थलाई भन्दा पनि व्यापारलाई ध्यान दिएर बनाइएको वस्तु हो । त्यस्तो चिज खाँदाखेरी बालबालिकाहरुले आफ्नो आँखालाई चाहिने भिटामीन ए प्राप्त गर्न सक्दैनन् ।

किनकी जंक फुडहरु स्वादका दृष्टिले मिठो बनाईएको हुन्छ यसले गर्दा हरियो सागपात भन्दा पनि बच्चाहरुको मन यस्ता खाद्यवस्तुतिर आर्कषित हुन्छ र यसले अवश्स्य पनि बेफाइदा गर्छ । भिटामीन ए को कमी भएपछि भविष्यमा गएर दृष्टिबिहीन हुने समस्या बढी हुन्छ ।
जंकफुडका कारणले एकैचोटी आँखा नदेख्ने भन्ने चाहीँ हँुदैन ।

यसले बिस्तारै बिस्तारै असर गर्दै जान्छ । जस्तो यसले गर्दा हाम्रो शरिरको प्रक्रियामा केही न केही असर गरेको हुन्छ । शरिरको हरेक अंग एक अर्कासंग सम्बन्धित हुन्छ । जस्तो भिटामीन ए आँखाको लागि मात्र चाहिने भन्ने होइन । भिटामीन ए छाला संगै अरु अंगहरुलाई पनि आवश्यक पर्छ । यस्तै कमिका कारण बिस्तारै बिस्तारै बालबालिकाको आँखामा हानी पुग्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार