काठमाडौं : कर्णालीलगायत दुर्गम जिल्लाका बासिन्दा बर्सेनि चामलको अभाव झेलिरहेका छन् । तर, विदेशबाट अनुदानमा आएको चामलसमेत सरकारी गोदाममा वर्षौँ थन्किएर सडेको छ । संसदीय समितिको अनुगमनका क्रममा थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा पाँच वर्षअघि जापान सरकारले दिएको चार सय ८५ क्विन्टल चामल कुहिएको अवस्थामा भेटिएको छ ।
संसद्को उद्योग तथा वाणिज्य र उपभोक्ता हित समितिले खाद्यवस्तु अनुगमन गर्न गठन गरेको उपसमितिले आइतबार अनुगमन गरेको थियो । त्यसक्रममा तीनवटा गोदाममा कुहिएको चामल मात्रै भेटियो ।
‘खाद्य संस्थानले आफैँ व्यवस्था गरेर चामल वितरण गर्नुको सट्टा जापानले अनुदानमा दिएको चामलसमेत वर्षौँ गोदाममा थन्क्याएर कुहाएको भेटियो, यो त अति नै भयो,’ अनुगमनपछि उपसमितिका संयोजक नरबहादुर धामीले भन्नुभयो । गोदाममा चामलसँगै दाल, स्वायबिनलगायत अन्य खाद्यवस्तुसमेत कुहिएका छन् ।
अनुदानमा विदेशबाट आएको चामल संस्थानले बेच्ने गरेको र बिक्री नभएपछि कुहिएको जवाफ कर्मचारीले अनुगमन समितिलाई दिएको थियो । ‘एउटा सरकारी निकाय जसले देशभरी धान खरिद गर्छ, चामल बनाउँछ र प्याक गरेर गोदाममा राख्छ । उसैले बेइमानी पनि गरिरहेको छ । राज्यलाई नोक्सानी हुने काम तुरुन्त बन्द गर्न निर्देशन दिएका छौँ,’ संयोजक धामीले भन्नुभयो ।
‘प्याकिङ’ गरिएका खाद्य बस्तुमा पनि उत्पादन मिति र म्याद सकिने मिति समेत लेखिएको थिएन । केही बोराको त तौलसमेत गढबढ पाइयो । ‘३० केजीको चामलको बोरामा लगाइएको ट्यागलाई डटपेनले केरमेट गरि २५ केजी बनाइएको छ, किन यस्तो भन्दा मुसाले खाने भएकाले घटाएको भन्ने जवाफ दिए,’ धामीले भन्नुभयो , ‘संस्थान गन्जागोल देखियो ।’ किरण दहालले नयाँपत्रिमा समाचार लेख्नुभएको छ ।