काठमाडौँ – शहीर स्मारक ए डिभिजन लिग फुटबलको साबिक विजेता मनाङ मस्र्याङ्दी क्लब शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार भएको खेलमा ब्रिगेड ब्वाईज क्लब (बीबीसी) लाई १–० ले पराजित गर्दै १० खेलाडीमा सीमित मनाङ तेस्रो जितसहित शीर्ष स्थानमा उक्लिएको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङलाई जित दिलाउन जगजित श्रेष्ठले निर्णायक गोल गरे ।जगजितले खेलको २५ औँ मिनेटमा निर्णायक गोल गरेका थिए । तुलानात्मक कमजोर टिम ब्रिगेडविरुद्ध मनाङले दोस्रो हाफमा पनि गोलको अवसर खेर फालेको थियो ।
खेलको ५५ औँ मिनेटमा मनाङका फेमी जोसुआले दायाँ भागबाट गरेको प्रहार ब्रिगेडका गोलरक्षक विशाल सुनारले सुन्दर बचाउ गरे । खेलको ७३ औँ मिनेटमा एकराज बुढाथोकीले रातो कार्ड पाएपछि मनाङ १० खेलाडीमा सीमित भएको हो । जितसँगै मनाङले ३ खेलमा ९ अंक जोडेको छ ।