काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष–२०२० को थालनीसँगै सन् २०२०–२०३० लाई पर्यटन दशकका रूपमा मनाउने तयारी गरेको छ । यसका लागि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी नीति तथा कार्यक्रममा यो कार्यक्रम समावेश गर्ने योजना बनाएकोे छ ।
यस अवधिमा पर्यटकीय पूर्वाधार सुधार, जनशक्ति उत्पादनलगायत काम गर्दै पर्यटकीय पूर्वाधार निर्माण गरी १ दशक पर्यटन विकासमा ध्यान केन्द्रित गर्ने पर्यटन मन्त्री योगेश भट्टराईले बताए । ‘नेपाल भ्रमण वर्ष २०२० एउटा अभियान हो । यसबाट नेपाललाई विश्वसामु आर्कषक र सुरक्षित गन्तव्यका रूपमा परिचित गर्नेछौं । त्यसपछि १ दशकसम्म पर्यटनलाई प्राथमिकतामा राखेर ‘पर्यटनका लागि १ दशक’ अभियान चलाउने सोच छ । यो पर्यटन विकासका लागि दीर्घकालीन सोच हुनेछ,’ भट्टराईले भने ।
भ्रमण वर्षका सन्दर्भमा काठमाडौं उपत्यकाभित्रका नगरपालिकाका मेयर तथा उपमेयरसँग पर्यटन मन्त्रालयमा आयोजित छलफलमा मन्त्री भट्टराईले पर्यटन क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा हालको ३ प्रतिशत योगदानलाई १० प्रतिशत पुर्याउने र पर्यटन क्षेत्रमा हरेक वर्ष डेढ लाखदेखि २ लाखसम्म रोजगारी सृजना गर्ने लक्ष्यअनुसार पर्यटन दशकको योजना अगाडि बढाइएको बताए ।
मन्त्री भट्टराईले पर्यटन नेपालको आर्थिक तथा सामाजिक रूपान्तरणको प्रमुख क्षेत्र भएकाले यसका लागि सबैको साझा चासो र प्रतिबद्धता आवश्यक रहेको बताए । ‘तत्काल भ्रमण वर्षका लागि आफ्नो नगरपालिकाको पहिचान झल्किने कुनै खास ब्रान्ड प्रर्वद्धन गर्ने कार्यक्रम बनाउनुहोस्,’ उनले भने, ‘त्यसपछि पर्यटन दशक र सधैंका लागि आफ्नो क्षेत्रमा पर्यटकीय गन्तव्य विकास गर्ने गरी रणनीति तयार पार्नुहोस् । यसले नै हाम्रो पर्यटन विकासको आधार तय गर्नेछ ।’
काठमाडौंभित्रै विश्वसम्पदा सूचीमा सूचीकृत सातओटा सम्पदा रहेकाले तीनलाई समेटेर सबै नगरपालिकाले एकीकृत पर्यटन कार्यक्रम तथा अन्तरसम्बन्ध कायम गर्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा सहभागी विभिन्न नगरपालिकाका मेयर तथा उपमेयरले भने एकीकृत पर्यटन पूर्वाधारको विकास नभई भ्रमण वर्ष आयोजना गरिएको गुनासो गरे । उनीहरूले भ्रमण वर्ष मनाइरहँदा नेपाल आउने पर्यटकलाई २०२० मै नेपाल किन जाने भन्ने प्रश्नको जवाफ दिन आवश्यक भएको बताए । त्यसका लागि सरकारले छिट्टै प्याकेज घोषणा गर्नुपर्ने उनीहरू भनाइ थियो ।
आर्थिक अभियानबाट