कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले नेपाल भ्रमण वर्षका लागि लोगो तयार गरेको छ। प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले उक्त लोगो अनुमोदन गरेको हो।सुदूरपश्चिम प्रदेश पर्यटन प्रवर्द्धन समितिले प्रदेश भ्रमण वर्ष २०२० को लोगो अनुमोदन गरेको छ। पर्यटकीय गतिविधि प्रचार-प्रसार उपसमितिले उक्त लोगो समितिको बैठकमा पेश गरेको थियो।
‘देवभूमि सुन्दरभूमि’ अंकित लोगो उक्त समितिले अनुमोदन गरेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलका सूचना अधिकारी भोजराज पाठकले जानकारी दिए।लोगोको किनारामा नेपालको झण्डाको संकेत गर्ने नीलो, रातो र सेतो रंगको घेरा छ भने अपि र सैपाल हिमाल सिरानमा रहेको उक्त लोगोमा देवभूमिको संकेत गर्ने गरी मन्दिरको स्केच राखिएको छ।
सांकेतिकरूपमा तराई, पहाडी–हिमाली संस्कृति झल्कने महिला र पुरूषको स्केचका साथै यस प्रदेशको प्रकृतिमा आधारित पर्यटकीय आकर्षण एवं मानवनिर्मित पर्यटकीय आकर्षणहरू समेत प्रस्तुत हुने गरी लोगो तयार पारिएको सूचना अधिकारी पाठकले जानकारी दिए ।