खेलाडीको कारबाही घट्यो, दर्शक तान्ने नयाँ दाउ

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले विमल घर्तीमगरसहित चार खेलाडीमाथि लगाएको प्रतिबन्ध कारबाहीको समय केही घटाएको छ। विश्वकप छनोट फुटबलअन्तर्गत भुटानमा कुवेतसँग खेल्न जाने अघिल्लो दिन विमलसहित अञ्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशी रात्रि क्लब पुगेका थिए। बन्द प्रशिक्षण क्यापबाट भागेर रात्रि क्लबमा गएका खेलाडीलाई एन्फाले तत्काल टोलीबाट बर्खास्त गरेको थियो।

यी चार खेलाडीलाई पछि एन्फा अनुशासन समितिले जनही ५० हजार रुपैयाँ जरिवानासहित अञ्जन र सन्तोषलाई ४५ दिन र विमल र दिनेशलाई ९० दिन प्रतिबन्धको कारबाही गरेको थियो। उक्त कारबाहीमाथि खेलाडीले एन्फाको अपिल कमिटीमा अपिल गरेका थिए।

खेलाडीको अपिलपछि एन्फाले मंसिर २७ गतेबाट कारबाही गर्ने पूर्वनिर्णयलाई सच्याउँदै कात्तिक ३० गतेबाट लागू हुने जनाएको छ। खेलाडीलाई भुटान प्रस्थान गरेको दिन कात्तिक ३० खेलबाटै लागू हुनेगरी कारबाही गरिएको हो। खेलाडीलाई आर्थिक जरिबाना भने यथावत् राखिएको एन्फाद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ। नेपालले कुवेतसँग मंसिर ३ गते छनोट खेल खेलेको थियो। उक्त खेलमा नेपाल कुवेतसँग १–० गोलले पराजित भएको थियो।

दर्शक तान्ने नयाँ दाउ 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दर्शकलाई आकर्षित गर्न विभिन्न उपहारको घोषणा गरेको छ। लिग समितिले मंगलबार पत्रकार सम्मेलन गरी लिगका दर्शक घटेको भन्दै उपहार प्याकेज ल्याएको हो।

लिग सञ्चालन समितिका संयोजक सञ्जीव मि श्रले दुई सय र पाँच सय मूल्य तिरेर रंगशाला आउने दर्शकलाई राष्ट्रिय टोलीको जर्सी, दशरथ रंगशालामा सञ्चालन हुने विश्वकप छनोट खेल हेर्ने टिकट, पाँच सयको टिकटमा दुई जनालाई नेपालको राष्ट्रिय टोलीसँग विदेश भ्रमणको अवसरलगायत उपहार राखिएको बताए। उनले सबै पुरस्कार लक्की ड्र मार्फत सार्वजनिक गरिने जानकारी पनि दिए।

मोफसलको खेलतालिका सार्वजनिक 

एन्फाले मोफसलमा हुने गोल्ड कप र नकआउट फुटबलको खेलतालिका पनि सार्वजनिक गरेको छ। तालिकाअनुसार नकआउट फुटबल फागुन पहिलो साताबाट सञ्चालन हुनेछ। एन्फाको तालिकामा मोफसल र काठमाडौं उपत्यकामा गरी २५ वटा प्रतियोगिता सञ्चालन हुनेछन्।

तालिकामा धेरै प्रतियोगिता जुधेका छन्। तालिकाअनुसार फागुन पहिलो साता पोखरामा मनकामना गोल्डकप, झापामा सताक्षी गोल्डकप र मकवानपुरमा बागमती गोल्डकप हुनेछ। फागुनकै ५ देखि १५ सम्म चितवनको राइनो गोल्डकप, फागुन ८ देखि १७ सम्म बूढासुब्बा गोल्डकप र तिलोत्तमा गोल्डकप हुनेछ। फागुन ११ देखि २२ सम्म धनगढीमा खप्तड गोल्डकप, फागुन १५ देखि २४ सम्म झापा गोल्डकप, माईभ्याली गोल्डकप र बागलुङमा मेयर कप हुनेछ। फागुन २२ देखि चैत १ मा आहा रारा र राजर्षि जनक कप, फागुन २२ देखि चैत ३ सम्म चितवन गोल्डकप र नेपालगन्ज गोल्डकपलगायत प्रतियोगिता हुनेछन्।

अन्नपूर्णपोष्ट दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार