काठमाडौँ – नेपाल टेलिकमले आफूले तयार गरेका दूरसञ्चार पूर्वाधार अन्य सेवा प्रदायकलाई पनि सहप्रयोग गर्न दिने तयारी थालेको छ । यसका लागि टेलिकम मातहतमै छुट्टै पूर्वाधार सहप्रयोग कम्पनी खोल्ने प्रारम्भिक तयारीमा कम्पनी जुटेको हो ।
छुट्टै सेवामूलक कम्पनीका रूपमा दूरसञ्चार कम्पनी खोल्ने योजना बनेको हो, प्रबन्धनिर्देशक डिल्लीराम अधिकारीले भन्नुभयो । दूरसञ्चार पूर्वाधारमा बढ्दो दोहोरो लगानी कम गर्ने सरकारी नीतिअनुरूप नै यस्तो कम्पनी सञ्चालनको तयारीमा जुटेको उहाँले जानकारी दिनुभयो । कम्पनी सञ्चालन गर्न प्रबन्धपत्रको मस्यौदा तयार भइसकेको उहाँले बताउनुभयो ।
पूर्वाधार सहप्रयोग कम्पनी खोल्ने योजना कार्यान्वयन गराउन यससम्बन्धी विशेष प्रस्ताव आगामी २९ गते हुने टेलिकमको बाह्रौँ वार्षिक साधारण सभामा प्रस्तुत हुँदैछ । टेलिकमले छुट्टै कम्पनी अथवा त्यस किसिमका कम्पनीमा ऋण लगानी गर्ने भन्ने विषयमा सोही साधारण सभाबाट तय गर्नेछ । साधारण सभाको अनुमोदनपछि कम्पनी सञ्चालनका लागि नेपाल दूरसञ्चार प्राधिकरणको आवेदन दिइने अधिकारीले जानकारी दिनुभयो ।
दूरसञ्चार पूर्वाधारसम्बन्धी नियमावली, २०७४ अनुसार नेपाल सरकारको ७५ प्रतिशतभन्दा बढी सेयर लगानी भएको सेवा प्रदायकले दूरसञ्चार पूर्वाधार सेवाको निर्माण तथा सञ्चालन गर्न जुनसुकै बखत अनुमतिपत्रका लागि प्राधिकरणसमक्ष आवेदन दिनसक्ने व्यवस्था छ ।
टेलिकमले विनियमावलीमा भएको व्यवस्थाअनुरूप नै पूर्वाधार सहप्रयोग कम्पनीको योजना तयार गरेको प्रबन्धनिर्देशक अधिकारीले स्पष्ट पार्नुभयो । उहाँका अनुसार टेलिकमले निर्माण गर्ने टावर, अन्डर ग्राउन्ड तार, जेनेरेटर, पावरजस्ता पूर्वाधारमा अन्य सेवाप्रदायकलाई सहप्रयोग गर्न दिइने छ ।
खासगरी फाइबर तारमा बढ्दो दोहोरो लगानीका कारण सहरी सौन्दर्यसमेत बिग्रँदै गएकाले त्यसको समाधानमा पनि यस्तो कम्पनी उपयोगी हुने उहाँको भनाइ छ । विश्वभर नै ठूला दूरसञ्चार कम्पनीहरूले पनि पूर्वाधार कम्पनीमा लगानी गर्ने प्रचलन रहेकाले टेलिकमले पनि यस्तो योजना अगाडि सारेको उहाँले बताउनुभयो । गोरखापत्र दैनिकमा खबर छ ।