काठमाडौं – नेपालको लिम्पियाधुरा क्षेत्र समेटेर भारतले आफ्नो नक्सामा राखेपछि दुई देशबीचको सीमा विवाद केही समयदेखि चर्किएको छ । आफ्नो भूमि समेटेर भारतले नक्सा सार्वजनिक गरेपछि नेपालले विरोधमा कूटनीतिक नोट पठाउँदै वार्ताको प्रस्तावसमेत गरेको थियो ।
सीमा समस्याबारे नेपालले राखेको चासोमा १ महिनासम्म प्रतिक्रियाविहीन देखिएको भारतले अन्ततः कालापानी क्षेत्रमा सीमा समस्या रहेको स्वीकारेको छ । कान्तिपुर दैनिकका अनुसार, समाधानका लागि तयार रहेको व्यहोरासहितको पत्र उसले नेपाल सरकारलाई पठाएको छ ।
यसै साता नेपालस्थित भारतीय दूतावासमार्फत सरकारलाई सम्बोधन गर्दै पत्र पठाइएको छ । समाचार अनुसार पत्रमा कालापानी, सुस्ता क्षेत्रको समस्या सल्टाउन भारत तयार रहेको उल्ललेख छ । वार्ताका लागि नेपालले यसअघि मितिसहितको प्रस्ताव गरे पनि भारतले पठाएको जवाफमा भने मिति उल्लेख छैन । ‘पत्रमा आपसी समझदारीमा उपयुक्त तिथिमा वार्ता गर्ने व्यहोरा छ’, भारतले पठायो पत्र शीर्षक समाचारमा कान्तिपुरले लेखेको छ ।
पत्रको पहिलो बुँदामा कालापानी क्षेत्रको भूमि आफ्नै रहेको दाबी भारतले गरेको छ। ‘सीमाको ९८ प्रतिशत समस्या समाधान भएको छ, कालापानी र सुस्ता क्षेत्रको समस्या सल्टाउन तयार छौँ,’ पत्रमा भनिएको छ।
सीमा समस्या समाधानको लागि भारतले वार्ता गर्न सचिव स्तरीय सयन्त्र रोजेको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतबाट पत्र आएको पुष्टि गरे पनि पत्रको विवरणबारे उल्लेख गरेनन्।