सिन्धुली : प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले ३ नम्बर प्रदेशको नाम ‘नेवा-ताम्सालिङ’ हुने बताएका छन् । पर्यटन वर्ष २०२० को पूर्वसन्ध्यामा सिन्धलीगढीमा सोमबार आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासं (फोनिज) को ४५ औ राष्ट्रिय भेलाको उदघाटन गर्दै मन्त्री जम्कट्टेलले यस्तो बताएका हुन्।
उनले संघीयता खोला र नदीले नमागेको भन्दै संघीयता उत्पीडित, जाती, समुदाय र क्षेत्रले मागेकाले उनीहरुको आत्मसम्मान हुनेगरी प्रदेशको नाम ‘नेवा-ताम्सालिङ राखिनुपर्ने बताए। प्रदेशको नाम खोला नदीको नाममा बागमती वा गण्डकी हुनै नसक्ने भन्दै उनले भने, ‘संविधानमा समावेशीताको अधिकार भएकाले यो नामका बारेमा प्रदेशसभामा प्रस्तावसमेत दर्ता भएको छ। मैले त भनेको छु मेरो मत भनेको नेवा-ताम्सालीङ नाममा हो। मैले यो कुरा पार्टीमा पनि राखेको छु। यसले हाम्रो राष्ट्रियतालाई मजबुत बनाउँछ। हाम्रो शासन व्यवस्थामा मजबुत बनाउँछ।’