काडमाण्डौं-‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान’को सातौ अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएका रमेश वीजीले आइतबार लोक दोहोरी प्रतिष्ठानकै भवनमा आयोजित एक कार्यक्रममा निवर्तमान अध्यक्ष वद्री पंगेनीबाट प्रतिष्ठानको हिसाव बुझेका छन् ।
सोही कार्यक्रममा बोल्दै अध्यक्ष वीजीले अब लोक तथा दोहोरी गीतमा सेन्सरको सुरुवात गर्ने बताए । आफ्नो योजनाबारे बोल्दै उनले भने–‘हामीले केही समय भित्रै आन्तरिक सेन्सर बोर्ड तयार गर्नेछौ । जहाँ यस क्षेत्रका दिग्गज व्यक्तिहरुलाई राखिनेछ । सरकारी तवरबाट पारित नभएसम्म हामीले आन्तरिक रुपमा नै लोक दोहोरीलाई सेन्सर गर्नेछौ ।’
लोक दोहोरीसँग सम्बन्धित रहेका हरेक सर्जकले आफूले गीत सार्वजनिक गर्नुपूर्व सेन्सर गर्नु पर्ने अध्यक्ष वीजीले बताएका छन् । उनले, सेन्सर नगरी गीतहरु सार्वजनिक गरेको खण्डमा उनीहरुलाई कारबाहीको दायरामा ल्याइने चेतावनी दिए । वीजीले भने–‘हामीले सेन्सर गरेपछि भिडियोको सुरुमा सेन्सर गरेको तस्वीर हाल्न लगाउँछौ । यदि, सेन्सर नगरी भिडियोहरु सार्वजनिक गरेको पाइएमा कारवाही हुन्छ ।’
पछिल्लो समय लोक दोहोरी गीतमा विकृती फैलिएको छ । लोकदोहोरी गीत भद्दा भैरहेको आरोप लामो समयदेखि मिडिया र दर्शकले लगाउँदै आएका छन् । सोही कुराको अन्त्य गर्नको लागि सेन्सर लगाउने वीजीले बताए । उनले, सेन्सरको सुरुवातपछि लोकदोहोरीमा विकृती भयो भन्ने आरोप सुन्न नपर्ने विश्वास समेत व्यक्त गरे ।