काठमाडाै । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी नेपाल (राजपा )बीच भएको दुई बुँदे सहमतिको नेकपाभित्रै विरोध भएको छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा नेकपाको जारी स्थायी कमिटी बैठकमा बिहीबार बोल्दै नेताहरूले सहमतिको विरोध गरेका हुन् । बुधबार नेकपा र राजपा नेपालबीच राष्ट्रियसभा निर्वाचनमा सहकार्य गर्ने भन्दै दुई बुँदे सहमति भएको थियो ।
नेकपा स्थायी कमिटी बैठकमा सहभागी एक नेताका अनुसार पार्टीले राजपा नेपालसँग गरेको सहमतीमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, प्रस्तावित उपाध्यक्ष वामदेव गौतम, भिम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल र रघुजी पन्तलगायतका नेताले असन्तुष्टि व्यक्त गर्दै विरोध गरेका हुन् ।
‘पार्टीभित्र छलफल नै नगरी यत्रो ठूलो निर्णय लिइएको छ तर हामीले सञ्चारमाध्यमबाट जानकारी पाइराखेका छौं,’ नेपालले बैठकमा भने, ‘विधि, प्रक्रिया मिचियो भनेर आफैंले प्रतिवेदनमा उल्लेख गर्दै आत्मालोचना पनि गर्ने तर कुनै निर्णय गर्दा पार्टीभित्र छलफल नै नगर्ने ?’
पार्टीको महत्वपूर्ण बैठक चलिरहेको बताउँदै उनले बैठकमा समेत जानकारी नगराई गलत प्रक्रियाले सहमति भएको बताए । सहमतिको विरोध गर्दै उनले विधि प्रक्रियाबाट पार्टी सञ्चानल गर्न सुझाव दिए ।
यस्तै, प्रस्तावित उपाध्यक्ष गौतमले समेत दुई बुँदे सहमतिको विरोध गरे । सहमति लुकीछिपी भएको बताउँदै उनले पार्टी बैठकको औचित्य नै नभएको बताए ।
‘स्थायी कमिटीको बैठक चलिरहेको छ, यस्तो सहमति हँुदै छ भनेर एकपटक बैठकमा जानकारीसमेत गराइएको छैन्,’ गौतमले भने, ‘लुकीलुकी यस्तो सहमति हुन्छ भने यो बैठकको औचित्यचाहिँ के ?’
कुनै पनि विषयमा सहमति गर्नुपूर्व जारी पार्टीको बैठकमा जानकारी गराउँनुपर्ने तर त्यसो नगरी लुकीलुकी सहमति गर्नुले गलत पद्धति स्थापित हुन लागेको बताए ।
नेकपा स्थायी कमिटीका सदस्य रावलले नाकाबन्दी गरी जनतालाई दुःख दिने राजपालाई नेकपाले चोख्याउन खोजेको भन्दै सहमतिको विरोध गरे । जनतालाई दुःख दिने गरी नाकाबन्दी गर्ने राजपासँग सहमति गरेर नेकपाले के गर्न खोजेको हो भन्दै उनले बैठकमा प्रश्न गरे । दुई बुँदे सहमतिको विरोध गर्दै उनले बैठकमै कविता सुनाउँदै नेतृत्वको आलोचना गरे ।
स्थायी कमिटी बैठक शनिबार बस्ने
जारी स्थायी कमिटी बैठकमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावप्रति आफ्नो धारणा राख्दै नेताहरुले पार्टी र सरकार सञ्चालन सम्बन्धमा असन्तुष्टि व्यक्त गर्दै नेतृत्वको आलोचना गरेका छन् । केही नेताले सरकार र पार्टी नेतृत्वको बचाउ गर्दै आफ्नो धारणा राखेका छन् ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रस्तुत प्रतिवेदनमाथि नेताहरूले धारणा राख्नेक्रम सकिएको बताउँदै अर्को बैठक शनिबार बस्ने बताए । प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि प्रस्तुत धारणा, सुझाव र दृष्टिकोणलाई मध्यनजर गरी पार्टी अध्यक्षद्वय ओली र दाहालले परामर्श गरी निर्णयको तयारीका निम्ति शुक्रबार बैठक नराखिएको उनले बताए ।
बिहीबारको बैठकमा किरण गुरुङ, चक्रपाणि खनाल, सुवास नेम्वाङ, विष्णु रिमाल, भीम आचार्य, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा, माधवकुमार नेपाल र झलनाथ खनालले आफ्नो सुझाव दिएका छन् ।
राजधानी दैनिकबाट