हिउँदे अधिवेशन आजदेखि, सभामुख चयनको कार्यसूची

काठमाडौं– आजदेखि संघीय संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ। यसअन्तर्गतको प्रतिनिधिसभामा सभामुख चयन यो अधिवेशनको प्रारम्भिक कार्यसूचीमा परेको छ।  सभामुख कृष्णबहादुर महरालाई बलात्कार आरोप लागेपछि असोज १४ गतेदेखि उक्त पद रिक्त छ।

संसद सचिवालयका अनुसार यो अधिवेशन कानुन निर्माणमा केन्द्रीत हुनेछ। संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार  प्रतिनिधी सभामा मात्रै २७ विधेयक छन्।  तीमध्ये ८ सांसदहरुका हातमा, १५ समितिमा र दुईवटा भर्खरै दर्ता भएका छन्। राष्ट्रियसभामा ६ विधेयक छन्। तीमध्ये दुई भर्खरै दर्ता भएका हुन्।

प्रतिनिधी सभामा रहेका २५ मध्ये सवैभन्दा विवादित नागरिकता विधेयक हो। अघिल्लै अधिवेशनमा यसलाई ऐनको रुप दिने भनिए पनि पार्टीका शीर्ष नेतृत्व तहमा सहमति नजुट्दा रोकिएको छ।

राज्य तथा सुशासन समितिमा रहेको विधेयकमा सहमति समितिको बुता बाहिरको काम भएको छ। त्यसैले विवादित विषय यथावत राखेर संसद्मा पठाउने विषयमा समेत छलफल भइरहेको छ।  वैवाहिक अंगीकृत नागरिकताको विषय सबैभन्दा पेचिलो बनेको छ।  यो  विषयमा पार्टीका मत बाझिएका छन्।

विवादित विषयमा सबै पार्टीकै सहमति जुटाउन गठन गरिएको उपसमिति निष्प्रभावी बनेको छ। विवाद यथावत राखेर प्रतिवेदन पेश गरेको छ। समिति सभापति  शशी श्रेष्ठ भने सहमति जुटाएर यही अधिवेशनमा विधेयक पेस गर्न सकिने बताउँछिन्। यसमा गृहकार्य भइरहेको उनको दाबी छ। उनले भनिन्, ‘हामी यही अधिवेशनबाट पास हुनेगरी विधेयक पेश गर्ने तयारीमा छौं।’

यही समितिमा रहेको संघीय निजामती सेवा विधेयक, २०७५ पनि विवादित छ। कर्मचारीको सेवा प्रवेश र अवकासको उमेरलगायत सेवासँग सम्बन्धित व्यवस्थामा विवाद छन्। तर नागरिकता विधेयकको तुलनामा सहमति जुटाउन सहज देखिन्छ।

आज राष्ट्रिय सभाले यसबिचमा दिवंगत पूर्व सांसदहरुको शोक प्रस्ताव पारित गर्नेछ।  राष्ट्रियसभाका समितिमा ६ विधेयक छन्। तीमध्ये नेपाल मिडिया काउन्सिल विधेयक, २०७५  विवादित बनेको छ। विवादित बनेपछि गठित संसदीय उपसमितिले आफ्नो प्रतिवेदन हालै बुझाएको छ। यसबीचमा विधेयकलाई लिएर विरोधमा उत्रिएका पत्रकारका संघ संगठनसँग सरकारले संशोधन गर्ने सहमति समेत जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार