काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको डायलासिसका लागि त्रिभुवन शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियो भास्कुल एन्ड ट्रान्सपलान्ट सेन्टरमा लगिएको छ। बिहीबार दिउँसो उनलाई डायलासिसका लागि सेन्टरमा लगिएको स्रोतले बतायो।
प्रधानमन्त्री ओलीको यो १० औँ पटकको डायलासिस हो। एपेन्डिसाइटिस भएर १० दिनसम्म उपचार गरेर फर्किएको छैटौँ दिनमा प्रधानमन्त्री ओली मिर्गौलाको नवौँ डायलाइसिस भएको थियो। सिंगापुरमा गत भदौमा मिर्गौलाको आयु बढाउन ६ पटकसम्म गरिएको प्लाज्मा फेरोसिसले काम नगरेपछि ओली गत कात्तिकमा धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना भएर दुई पटकसम्म मिर्गौलाको डायलाइसिस गराएका थिए।
एपेन्डिसाइटिसको अप्रेसनपछि मनमोहनको आइसियुमा १० दिनसम्म रहने क्रममा प्रधानमन्त्री ओलीको मिर्गौलाको पनि डायलाइसिस भएको थियो। प्रधानमन्त्री ओलीको १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।
प्रत्यारोपण गरेको मिर्गौलाले करिब काम गर्न छाडिसकेको अवस्थामा नियमित डायलाइसिस भइरहेको छ। डायलासिस सकिएपछि ओली बिहीबार नै सरकारी निवास वालुवाटार फर्किने भएका छन्।