राष्ट्रिय बाल नाटक महोत्सवका लागि आवेदन खुला

काठमाडौं । एघारौं राष्ट्रिय बाल नाटक महोत्सव माघको तेस्रो साता हुने भएको छ । रुसी साँस्कृतिक केन्द्रसँगको सहकार्यमा शैली थिएटरले हरेक वर्ष आयोजना गर्दै आइरहेको यो महोत्सवमा सहभागिताका लागि शैली थिएटरले आवेदन खुला गरेको छ ।बालबालिकालाई रङ्गमञ्च, कला र साहित्यतर्फ काम गर्न प्रोत्साहन र अवसर दिने हेतुले आयोजना गरिने सो महोत्सवमा सहभागी इच्छुक व्यक्ति, संस्था, स्कुल, नाटक समूहलाई आलेख (स्क्रिप्ट) बुझाउन आह्वान गरिएको छ ।

महोत्सव व्यवस्थापक सुवास सुवेदीका अनुसार उत्कृष्ट अभिनय स्वरूप दुई जनालाई १० हजार नगद पुरस्कार प्रदान गरिनेछ । उत्कृष्ट निर्देशन र नाटकलाई पुरस्कार स्वरुप ७ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रोत्साहन र पब्लिक च्वाइस पुरस्कार स्वरुप दुई जनालाइ रु पाँच हजार दिइनेछ । भने सहभागी सम्पूर्णलाई प्रमाणपत्र वितरण गरिनेछ ।

स्क्रिप्टको मापदण्डको बारेमा जानकारी दिँदै थिएटरका अध्यक्ष नवराज बुढाथोकी बताउँछन्, “बालबालिकामा केन्द्रित नाटक महोत्सव भएकाले नाटक कुनै पनि तरिकाले बालबालिकासँग जोडिएको हुनुपर्नेछ । नाटकले बालबालिकाको मानोविज्ञान र नैतिक आचरणमा नकारात्मक असर पार्ने कुनै पनि भाषिक र विषयगत कुराको अभ्यास गर्न पाउने छैन ।

राष्ट्रिय अखण्डतामा आँच पुर्‍याउने तथा राज्यको नीति–नियम विपरीतको आलेख स्वीकार्य हुने छैन । एउटा नाटकमा बढीमा १५ जनामात्र कलाकार हुनुपर्ने छ र नाटक ७० मिनेट भन्दा लामो हुनु हुँदैन ।”

आयोजकका अनुसार महोत्सवका लागि छानिएको नाटकहरूको सूची पुस २५ गते सार्वजनिक गरिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार