काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा उपाधि दाबेदार थ्री स्टार क्लब बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा थ्री स्टार जावलाखेल युथ क्लबसँग गोलरहित बराबरीमा रोकिएको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा पाएको अवसर खेर फाल्दा दुवै टोलीले एक एक अंकमा चित्त बुझाएको हो । बराबरीसंगै दुवै टोलीले लिगमा एक एक अंक पाएका छन् ।
खेलको ११ औं मिनेटमा जावलाखेलका फोडे फोफानाले डिबक्स भित्रबाट उपलब्ध गराएको पासमा विजय घलानले प्रहार गरेको बल दोस्रो बार नजिकैबाट बाहिरिएको थियो । खेलको २७ औं मिनेटमा फोफानाको हेड बल आकाशिएको थियो ।खेलको १७ औं मिनेटमा थ्री स्टारका रुपेश केसीको प्रहार जावलाखेलका गोलरक्षक टेकेन्द्र थापाले बचाए ।
खेलको २५ औं मिनेटमा रुपेशको फ्रिकिक जावलाखेलका गोलरक्षक थापा र क्रसबारमा लाग्दै फर्किएको थियो । यस्तै खेलको ३९ औं मिनेटमा मिक्छेन तामाङले डिबक्स भित्रबाट हानेको भली पहिलो बार नजिकैबाट बाहिरिएको थियो ।पहिलो हाफ जस्तै दोस्रो हाफमा पनि दुवै टिमले गोलको अवसर सदुपयोग गर्न सकेनन् ।
६० औं मिनेटमा थ्री स्टारका प्रविन कुमार सैन्जुको प्रहार जावलाखेलका गोलरक्षक थापाले पन्च उत्कृष्ट बचाउ गरे । त्यसको आठ मिनेटपछि थ्री स्टारले सुनौलो मौका गुमायो ।सुशील राईले डिबक्सभित्र अनमार्क रहेका खेलाडी विजय भुजेललाई खाली पोस्टमा बल उपलब्ध गराए । तर, किपर बिट भएको अवस्थामा भुजेलको प्रहार दोस्रोबार हुँदै बाहिरिएको थियो ।
बराबरीपछि दुवै टोलीका प्रशिक्षक सन्तुष्ट देखिएनन् । दुवै प्रशिक्षकले पाएको मौका सदुपयोग नभएको बताए ।’आजको नतिजाबाट सन्तुष्ट छैन । तर, प्रदर्शनबाट चित्त दुखाई छैन अझै दाबेदारी प्रस्तुत गर्छौ,’ थ्री स्टारका प्रशिक्षक मेघ राज केसीले भने, ‘पहिलो पटक लिग खेलेका खेलाडीले राम्रै खेले । पाएको मौका सदुपयोग भएन ।’यस्तै जावलाखेलका प्रशिक्षक नरेश थापाले जित्नु पर्ने खेलमा सफल नभएको बताए ।
‘मौका पाएका थियौं सदुपयोग भएन । थ्री स्टारको अवस्था हेर्दा जित्ने लक्ष्य थियो । तर, सफल भएनौ । सोचेका खेलाडीले खेल्न सकेनन्,’ उनले भने । गत सिजन थ्री स्टार तेस्रो भएको थियो । जावलाखेल भने दशौँ स्थानमा रहेको थियो ।