काठमाण्डौ – राजधानीका चोकहरूमा राखिएका ट्राफिक बत्ती नियमित सञ्चालन नहुँदा यहाँको एउटा पुस्ता नै ट्राफिक बत्ती नदेखी हुर्कने सम्भावना देखिएको छ । हाल विद्यालयमा अध्ययनरत विद्यार्थीहरू ट्राफिक बत्तीको निर्देशनअनुसार सवारी साधन चलेको नदेखी नै हुर्कने स्थिति देखिएको हो ।
थापाथलीकी बासिन्दा अञ्जली गिरी कुपण्डोलको प्रगति शिक्षा सदनमा कक्षा १० मा अध्ययन गरिरहेको छ । पाँच वर्ष भयो उहाँ थापाथली चोक हुँदै सो विद्यालय जान थालेको। “कहिलेकाहीँ बिहान रातो मात्र बलेको देखिन्छ”, उनले भने, “तीन थरीकै बत्ती बलेको सम्झना छैन । ट्राफिक बत्तीले गाडीलाई रोकेको दृश्य अहिलेसम्म देख्न पाएकी छैन ।” स्कुले विद्यार्थीले कक्षा ५ को सामाजिक शिक्षा विषयमा ट्राफिक बत्तीका बारेमा पढेका छन् । ट्राफिक बत्तीका बारेमा परीक्षामा सोधिएको प्रश्नको उत्तर पनि लेखेका छन् तर वास्तविक रूपमा उनका लागि जिज्ञासाकै विषय बन्न पुगेको छ । थापाथलीको गुह्येश्वरी बाल शिक्षा माविमा कक्षा ६ का विद्यार्थी सीताराम गिरी पनि थापाथलीमै बस्छन् । ट्राफिक बत्ती कसरी बल्छ र त्यसले गाडीलाई कसरी रोक्न सक्छ भन्नेबारेमा उनका लागि कौतुहलको विषय बनेको छ । “सरले तीनवटा रङ्गका ट्राफिक बत्ती बल्छन् भनेर सिकाएको छ” गिरीले भने, “तर कहीँ पनि बत्ती बलेको देख्न पाएको छैन ।”
उपत्यकाभित्रका अधिकांश ट्राफिक बत्तीले नियमित काम गरेको पाइँदैन । आक्कलझुक्कल मात्र सञ्चालन हुने यी बत्ती नियमित नभएको करिब १० वर्ष बितिसकेको छ । हातको इशारा र सिट्ठीका भरमा सवारी साधनको व्यवस्थापन गर्दै आएका ट्राफिक प्रहरीलाई केही समयअघि हातमा ‘गो र स्टप’ लेखिएको बोर्ड थमाइएको छ । ट्राफिक बत्ती नहुँदा उता ट्राफिक प्रहरीलाई पनि हैरानै छ । थापाथलीको ट्राफिक प्रहरी प्रभागका ट्राफिक प्रहरी शान्तिप्रसाद खनालले सुरुसुरुमा काँध दुःख्ने गरेको स्मरण गरे। उनले थपे, “पहिले त मालिस गर्नुपर्ने अवस्था थियो । ट्राफिक लाइट भइदिएको भए हामीलाई निकै सहज हुने थियो ।” महानगरीय ट्राफिक वृत्त सिंहदरबारमा ट्राफिक प्रहरी जितबहादुर खत्री अब त ट्राफिक प्रहरीलाई बत्तीका बारेमा भन्दा पनि हातको इशारा बारेमा तालिम दिन थालिएको बताए। ‘गो र स्टप’ बोर्डले केही सजिलो भए पनि सवारी चालकलाई हतार हुनु र ट्राफिकले रोक्दा रोक्दै पनि बत्तासिएर अगाडि बढ्ने प्रवृत्तिले सवारी व्यवस्थापन गर्न हम्मेहम्मे नै पर्ने गरेको उनको अनुभव छ ।
अहिले कलङ्कीदेखि कोटेश्वरसम्मको चक्रपथ सुधार भएपछि सवारी साधनको चाप त्यस सडकमा उल्लेख्य बढेको छ र यसले गर्दा विभिन्न चोकमा ट्राफिक व्यवस्थापनको समस्या बढ्दै गएको छ । विभागको सडक सुरक्षा तथा ट्राफिक शाखाका इन्जिनियर बन्दना आचार्यले ती सबै स्थानका बत्ती मर्मत गरेपश्चात् ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिसकिएको बताउँदै भने, “हामीले मर्मत गरिदिइसक्यौँ । अब बाल्ने जिम्मा उहाँहरूको हो ।” महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भीम ढकालले औपचारिक रूपमा सडक विभागले आफूहरूलाई मर्मत गरिएका स्थानको बत्ती हस्तान्तरण नगरेको बताए। “सडक विभाग, मर्मत गर्ने प्राविधिक र हामीले परीक्षण गर्दा कतिपयमा अझै समस्या देखिएको थियो”, उनले भने, “बत्ती नबल्ने समस्या भएपछि प्रहरीले बत्ती बालेनन् भन्न मिल्दैन ।” उपत्यकाभित्र दैनिक करिब १२ लाख सवारी साधन गुड्ने गरेको अनुमान छ ।
गोरखापत्र दैनिकबाट