काठमाडौँ–नेकपा स्थायी कमिटि बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गर्नेक्रम जारी छ । आइतबारदेखि सुरु बैठकको दोस्रो दिन सोमबार १२ जनाले टिप्पणी गरेकोमा आज मातृका यादव, सुरेन्द्र पाण्डे लगायतले टिप्पणी गरेका छन्।
ओली र दाहालले आइतबारको बैठकमा पार्टी र सरकारको कामकारवाही, अवस्था, अन्तर्राष्ट्रिय परिस्थिति र आगामी कार्यदिशा समेटेर १६ पृष्ठ लामो प्रतिवेदन पेश गरेका थिए।
सोमबार धारणा राख्नेक्रममा अधिकांशले सरकारको कामकारवाही जनअपेक्षित नरहेको, पार्टी संगठन बलियो हुन नसकेको, माथिल्लो देखि तल्लो तहमा न्याय हुने गरी विधान सशोधन गर्नु पर्ने, नेपालको सार्वभोमिकता र भौगोलिक अखण्डतालाई ध्यान दिँदै अन्तर्राष्ट्रि सम्झौता गर्नु पर्ने र पार्टीको नेतृत्व तहमा महिला सहभागिता र नेतृत्व सुनिश्चित गर्नु पर्ने लगायत माग राखेका छन्।
प्रतिवेदनमाथि टिप्पणी गर्न र सुझाव दिन २० मिनेट छुट्याएको छ । सबै सदस्यहरुले आफ्नो टिप्पणी र सुझाव दिनु पर्ने भएपछि बैठक लम्बिने देखिएको छ।