काठमाडौं | माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सञ्चालनमा आउन अझै कम्तीमा १५ महिना लाग्ने भएको छ । पटक–पटक अवधि थपेर आगामी असारसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको तामाकोसी उक्त समयमा कुनै हालतमा पूरा नहुने देखिएको छ । ठेकेदार कम्पनीहरू खासगरी टेक्सम्याकोले आयोजनाको ठाडो सुरुङ (भर्टिकल साफ्ट)मा पेनस्टक पाइप जडान गर्न ढिलाइ गरिरहेकाले आयोजना सञ्चालनमा आउन अझै सवा वर्षभन्दा बढी समय लाग्ने भएको हो ।
गत असारदेखि सुरु भएको ठाडो सुरुङमा पेनस्टक पाइप जडान गर्ने काम माघसम्म (८ महिना)मा सक्ने लक्ष्य थियो । आयोजनाका संरचनाको फिनिसिङ, परीक्षणलगायत कार्य ०७६ को चैतभित्र पूरा गरी ०७७ असारभित्र पहिलो युनिट (७६ मेगावाट)बाट विद्युत् उत्पादन गर्ने लक्ष्य थियो । तर, अहिलेकै गतिमा काम हुने हो भने दुईवटै ठाडो सुरुङमा पेनस्टेक जडानका लागि मात्र झन्डै १३ महिना लाग्ने देखिएको छ । पाइप जडानपछि फिनिसिङ तथा परीक्षण कार्य सक्न कम्तीमा २ महिना लाग्ने अनुमान छ । यसरी अहिलेकै गतिमा काम भएमा १५ महिनाअघि आयोजना सञ्चालनमा नआउने देखिएको हो ।
१० वर्षमा पनि पूरा नहुने भयो आयोजना
०६७ साउनबाट आयोजनाको निर्माण सुरु गरेर ०७२ असारसम्ममा सक्ने लक्ष्य थियो । तर, ०७२ वैशाख १२ मा गएको भूकम्पले आयोजनास्थल जाने सडकमै भने क्षति पु¥यायो । आयोजनाको सुरुङलगायत संरचनामा भने खासै असर पारेन । सडकमार्गको कारण झन्डै डेढ वर्ष निर्माण कार्य रोकियो । त्यसपछि ०७५ को पुसदेखि आयोजना सञ्चालनमा ल्याउने लक्ष्यका साथ ०७३ मंसिरबाट काम पुनः सुरु गरियो । यो लक्ष्य पनि पूरा भएन । लट २ को ठेकेदार टेक्सम्याकोको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भएपछि १५ पुस ०७६ भित्र एक युनिट (७६ मेगावाट)बाट विद्युत् उत्पादनको लक्ष्य राखियो । त्यसपछि ०७७ को असार मसान्तभित्र पहिलो युनिट सञ्चालनमा ल्याउने लक्ष्य राखिएको थियो । उक्त लक्ष्यसमेत पूरा नहुने देखिएको छ ।
आयोजनाको सुरुङको अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक ३५ अर्ब २९ करोड ४१ लाख रुपैयाँ थियो । निर्माण अवधिको ब्याज १३ अर्ब २२ करोड र वित्तीय व्यवस्थापन तथा बैंक कमिसनसहित आयोजनाको अनुमानित लागत ४८ अर्ब ८६ करोड थियो । ०७२ भूकम्प र ठेकेदारको ढिलाइका कारण आयोजनाको समय लम्बिँदा लागत बढेर निर्माण अवधिको ब्याजबाहेक नै ४९ अर्ब २९ करोड ५५ लाख रुपैयाँ संशोधित अनुमान थियो । निर्माण अवधिको ब्याज १९ अर्ब ८४ करोडसहित आयोजनाको अनुमानित लागत ६९ अर्ब ५९ करोड रुपैयाँ पुग्ने संशोधित थियो । तर, यो रकम पनि बढेर आयोजनाको निर्माण लागत ७२ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको आयोजनाका प्रवक्ता न्यौपानेले बताए ।
नयाँ पत्रिका