काठमाडौं | केही सातादेखि चिसो बढेसँगै उपत्यकामा वायुप्रदूषण दर उच्च भएको छ। वातावरण विभागका अनुसार बिहानीपख प्रदूषण सबैभन्दा उच्च हुने गरेको छ। प्रदूषित वातावरणमा मर्निङवाक स्वास्थ्यका लागि हानिकारक हुने भन्दै सजक रहन चिकित्सकले सुझाएका छन्।
बुधबार बिहान ९ देखि १० बजेसम्ममा २.५ पिएमको वायु १ सय ५४ माइक्रोग्राम प्रति घनमीटर पुगेको छ। सरकारले ४० माइक्रोग्राम प्रति घनमीटर राष्ट्रिय मापदण्ड तोके पनि यसको मात्रा पाँच गुणासम्म बढी देखिएको हो। उपत्यकाको वायु चौबिसौ घन्टा प्रदूषित भएको विभागको तथ्यांक छ। त्यसमध्ये बिहान ४ बजेदेखि १२ बजेसम्म प्रदूषणको अवस्था उच्च रहेको छ। बिहीबार १० देखि १२ बजेसम्म प्रदूषणको दर १ सय ५० माइक्रोग्राम प्रतिघनमीटर भन्दा माथि पुगेको छ।
विश्व स्वास्थ्य संगठनले २.५ पिएमको वायु २५ माइक्रोग्राम प्रति घनमिटरसम्म रहेमा मात्र स्वास्थ्यका लागि लाभदायक हुने मापदण्ड तोेकेको छ। तर, उपत्यकालगायत मुख्य सहरको वायु स्वास्थ्यका दृष्टिले हानिकारक रहेको छ।
दृष्टिलाइभ संस्थाले गरेको मापनअनुसार काठमाडौंको वायूप्रदूषण बिहान ७ देखि १२ बजेसम्म उच्च हुने गरेको छ। वातावरण विभागले गरेको वायूप्रदूषण मापन हेर्दा काठमाडौंको रत्नपार्क, फोहोरा दरबार अनि उपत्यकाबाहिर दमक, नेपालगन्ज, दाङ र चितवनमा वायूप्रदूषण उच्च देखिएको छ। दृष्टिलाइभले गरेको मापनअनुसार बिहानीपख बढी प्रदूषित हुने गरेको छ।