काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपालाई छिन्नभिन्न पारेको भन्दै प्रहरीको प्रशंसा गर्नुभएको छ ।
प्रहरीसँगै सुरक्षा निकायको सक्रियताका कारण विप्लव समूह छिन्नभिन्न भएको गृहमन्त्री थापाको विश्लेषण छ । आज काठमाडौंमा आयोजित नयाँ ब्याजका इन्सपेक्टरहरुको दिक्षान्त समारोहमा बोल्दै गृहमन्त्री थापाले विप्लव समूह अब छिन्नभिन्न भइसकेको घोषणा समेत गर्नुभयो ।
उहाँले अझै पनि केही शान्ति सुरक्षामा खलल र्पुयाउन सक्रिय रहेको उल्लेख गर्दै त्यस्ता समूहको सुक्ष्म विश्लेष गरी योजनाबद्ध रुपमा कारबाहीमा उत्रिन पनि प्रहरीलाई निर्देशन दिनुभएको छ ।
प्रहरीले इमान्दारितापूर्वक बगाएको पसिना र रगतको सरकारले उचित मूल्याङ्कन गर्ने उल्लेख गर्दै गृहमन्त्री थापाले निर्धक्क भएर जिम्मेवारी निर्वाह गर्न पनि प्रहरीलाई आग्रह गर्नुभएको छ । यद्यपि, प्रहरीको आचरण र व्यवहार सामाजिक मूल्य र मान्यताअनरुपको हुनुपर्ने पनि गृहमन्त्री थापाको भनाइ छ ।