मङ्सिर महिना सकिनै लाग्दा जाडो दिन प्रतिदिन छिप्पिँदै गएको छ। चिसो बढ्दै जाँदा जाडो छल्न न्याना, बाक्ला कपडा आवश्यक हुन्छ। तर, कपडाले बाहिरी भाग तताएर मात्र हुँदैन। शरीरको भित्री भाग तात्तिनु जरुरी हुन्छ। त्यसैले यसका लागि खानपानमा विशेष ख्याल गर्नुपर्ने विज्ञको सुझाव छ।
जाडोबाट बच्न नियमित पोसिलो खानेकुरा समावेश गर्न आवश्यक हुन्छ। जाडोमा चिया नियमित कागति, अदुवा, मरिच हालेर चिया पिउँदा शरीरलाई निकै फाइदा गर्ने पोषणविज्ञ डा। अरुण उप्रेती बताउँछिन्।
‘अदुवा र कागतिमा रोगसँग लड्ने शक्ति भरपुर मात्रामा पाइने हुँदा यसलाई नियमित सेवन गर्न सकिन्छ। यो सिजनमा बाहिरी तापक्रम कम हुने हुदाँ भित्री भाग तातो हुने खानेकुरा प्रशस्त मात्रामा खान आवश्यक पर्दछ,’ डा। उप्रेतीको सुझाव छ, ‘फलफूलको जुस, चाकु, क्वाटी, विभिन्न तरकारीको सुप बनाएर सेवन गर्दा शरीरमा भरपुर मात्रामा पोषण र रोगसँग लड्ने शक्ति प्राप्त हुन्छ र शरीरलाई आवश्यक तापक्रम पनि पैदा हुन्छ।’
वातावरणमा आएको परिर्वतनसँगै खानामा ख्याल नपुर्याउँदा यो समयमा रुघाखोकी, दम, श्वासप्रश्वास, जोड्नीको दुखाइलगायतका रोगले आममानिसलाई निकै सताउने गर्दछ। खासगरी बालबालिका र वृद्धवृद्धा यसबाट बढी पीडित हुने गरेको डा। उप्रेती बताउँछिन्।
उनका अनुसार जाडोमा फ्रिजमा राखेको तथा बासी खानेकुरा खानु हुँदैन, यसले रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति कम हुन्छ र छिट्टै जुनसुकै रोगले आक्रमण गर्न सक्छ।