‘ड्रोन लाइट’ मा बुद्ध, नेपालकाे नक्सा र झण्डा : खेलाडीका लागि विशेष ‘प्याकेज’

काठमाडौं। १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन जस्तै समापन समारोह पनि भव्य भएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको कला र विद्यार्थीको नाचसँगै ‘ड्रोन लाइट’ ले समापन समारोहलाई थप झकिझकाउ बनायो । १ सय ५० वटा ‘ड्रोन लाइट’ प्रयोग गरेर बुद्ध, नेपालको नक्सा र झण्डा, मन्दिरजस्ता आकृतिहरु बनाइएको थियो ।

यस्तै, काठमाडौं, पोखरा र जनकपुरमा भएको १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) सम्पन्न भएको छ । मंगलबार दशरथ रंगशालामा विशेष ‘प्याकेज’सहितको समापन समारोह आयोजना गरी साग सम्पन्न भएको घोषणा गरिएको हो । सो समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको भिडियो सन्देश देखाइएको थियो ।

उनले कमजोर संरचनालाई पुनःनिर्माण गरेर ‘मिनि ओलम्पिक’ मानिने सागलाई सफलतापूर्वक सम्पन्न गर्न लाग्ने सबैप्रति आभार व्यक्त गरे । त्यस्तै, समापन कार्यक्रमका प्रमुख अतिथि उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले छिमेकी राष्ट्रहरुप्रति सागले आपसमा थप मित्रता कायम गरेको दाबी गर्दै सहभागी सातै देशका सबैप्रति नेपाल सरकारका तर्फबाट धन्यवाद ज्ञापन गरे ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले १३औं साग आयोजना गरेर नेपालीहरुको दुःखी अनुहारमा खुसी भर्न सफल भएको दाबी गरे ।बुधबार (भोलि) नेपाली सबै पदकधारी खेलाडीहरुलाई प्रधानमन्त्री ओलीले बालुवाटारमा बधाइ कामनासहित विशेष प्याकेज घोषणाका लागि निम्तो गरेको पनि सदस्यसचिव सिलवालले बताए ।

समापन समारोहमा युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्मा र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलाडीहरुको सुखद भविष्यको कामना गर्दै भ्रमण वर्ष २०२० लाई सफल बनाउन विदेशी खेलाडी, खेलकर्मी तथा पदाधिकारीलाई आग्रह गरे ।

विभिन्न वीरताका गाथासहितको विशेष कार्यक्रमको आयोजनासहित सागको समापन गर्दैै १४औं साग आयोजनाका लागि पाकिस्तानलाई सागको झन्डा हस्तान्तरण गरिएको छ । समापन समारोहको अन्तिममा आतिसबाजी गर्नुका साथै १५० ओटा ‘ड्रोन’ प्रयोग गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार