म्याराथनमा किरणसिंह बोगटीले जिते स्वर्ण पदक

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडमा नेपालले स्वर्ण पदक जितेको छ । पुरुषतर्फको स्पर्धामा किरणसिंह बोगटीले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गरे । यस स्पर्धामा भारतीय खेलाडी दोस्रो र तेस्रो हुँदै रजत र कास्य पदक जिते ।

सन् १९९५ मा नेपालका टीका बोगटीले म्याराथनमा स्वर्ण जितेका थिए । त्यसपछि १३ औं सागमा किरण बोगटीले नेपाललाई स्वर्ण दिलाएका हुन् । साग खेलकुदमा सबैभन्दा कम समयमा म्याराथन दौड जितेको रेकर्ड भने बैकुण्ठ मानन्धरको नाममा छ । उनले सन् १९८७ मा २ घण्टा १५ मिनेट ३ सेकेण्डमा निर्धारित दुरी पार गरेर रेकर्ड राखेका छन् ।बैकुण्ठ मानन्धरले १९८४ र १९८५ मा पनि म्याराथन दौड जितेका थिए ।

सन् १९९५ मा मद्रासमा आयोजित साग प्रतियोगितामा नेपालका टीका बहादुर बोगटीले म्याराथन दौडमा स्वर्ण जितेका थिए । सन् २०१० मा ढाकामा आयोजित सागमा नेपालका राजेन्द्रसिंह भण्डारी पहिलो भए पनि डोपिङमा परेपछि उनले पदक गुमाएका थिए ।

यस्तै, ४२ किलोमिटर म्याराथन दौडअन्तर्गत महिलातर्फको स्पर्धामा नेपाल दोस्रो भएको छ । श्रीलंका पहिलो हुँदै स्वर्ण जित्दा नेपालकी पुष्पा भण्डारी दोस्रो भइन् । उनले निर्धारित दुरी २ घण्टा ५० मिनेट ११ सकेण्डमा पार गरिन् । पहिलो भएकी श्रीलंकाकी खेलाडी हिरुनी केसाले भने २ घण्टा ४१ मिनेट २४ सेकेण्डमा दौड पूरा गरिन् । २ घण्टा ५२ मिनेट ४४ सेकेण्डमा दौड पूरा गरेकी भारतीय खेलाडी ज्योतीले तेस्रो हुँदै कास्य पदक जितेकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार