रोल्पा : रोल्पाको थवाङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) विजयी भएको छ । थवाङ–१ मा वडा अध्यक्ष पदकालागि भएको उपनिर्वाचनमा नेकपाका उमेदवार जनकबहादुर बुढाले १७४ मत ल्याएर विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका कलम रोकाले २६ मत ल्याउनुभएको छ । २०८ मत खसेकोमा थवाङमा ९ मत बदर भएको थियो । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चुनाव बहिस्कार गरेपछि कुल १२ सय ८८ मत मध्ये २०८ मत खसेको थियो । सो वडामा दुई मतदान केन्द्रमा १ सय १२ जना महिला र ९७ जना पुरुष मतदाताले मतदान गरेका हुन् । स्वतन्त्र निर्वाचीत वडाध्यक्ष फर्कबहादुर बुढाको मस्तिस्क घातका कारण निधन भएपछि उपनिर्वाचन भएको हो ।
कञ्चनपुर : कंचनपुरको पुनर्वास नगरपालिका ३ मा नेकपाका उम्मेदवार विजयी भएका छन् । नेकपाका उम्मेदवार कृष्ण बहादुर तामाङ ५ सय २८ मत ल्याएर विजयी हुनुभएको हो ।
निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका दीपबहादुर तामाङले ३ सय १० मत प्राप्त गरेका छन् । यस्तै समाजवादी पार्टी नेपालका भीम तामाङले ७५ मत प्राप्त गरेका छन् । १ हजार १ सय ९९ मतदातामध्ये ९ सय २४ जनाले मतदात गरेका थिए ।