काठमाडौं । देशका तीन तहका रिक्त ५२ पदका लागि आज मतदान जारी छ । उपनिर्वाचन अन्तर्गतका तीन स्थानमा बिहान ७ बजेबाट मतदान सुरु भएको हो । निर्वाचन आयोगका अनुसार मतदाताले साँझ ५ बजेसम्म मतदानस्थल पुगेर मतदान गर्न पाउने भएका छन् ।
निर्वाचन आयोगले उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत पारिएको जनाउँदै ढुक्क भएर मतदान गर्न मतदातालाई आह्वान गरेको छ । प्रतिनिधिसभाको १, प्रदेशसभाका ३ र स्थानीय तहका ४८ स्थानमा आज मतदान भइरहेको हो ।
निर्वाचनमा मन्त्रीदेखि चर्चित उम्मेदवारसम्मले गरे मतदान
निर्वाचनमा मन्त्रीदेखि चर्चित उम्मेदवारसम्मले मतदान गरेका छन् । कञ्चनपुर पुगेर खानेपानी तथा सरसफाइ मन्त्री बीना मगरले मतदान गर्नुभएको छ । पुनर्वास–३, कञ्चनपुरको गोरखा आधारभूत विद्यालयमा पुगेर आज बिहानै मतदान गर्नुभएको हो ।
यसैगरी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले पनि पाँचथरको फिदिम नगरपालिका १ मा आज बिहान मतदान गर्नुभएको छ । मन्त्री नेम्वाङले फिदिम मावि मतदानस्थलको ‘घ’ मतदान केन्द्रमा मतदान गर्नुभएको हो ।
प्रमुख सत्तारूढ दल नेकपाको कास्की–२ की उम्मेदवार विद्या भट्टराईले पनि मतदान गर्नुभएको छ । उहाँले पोखरा–३३ को शान्ति उदय मावि पुगेर मत खसाल्नुभएको हो । कांग्रेस उम्मेदवार खेमराज पौडेलले भने आफैंलाई मत हाल्न पाउनुभएको छैन । उहाँ कास्की क्षेत्र नम्बर ३ का स्थानीय हुनुहुन्छ ।
त्यस्तै, कास्की–२ कि साझा पार्टीकी उम्मेदवार रजनी केसीले पनि भोट हाल्नुभएको छ । नवीन स्कुल, गैर्हापाटन, पोखरा पुगेर केसीले बिहान ७ बजे मतदान गर्नुभएको हो ।
आजै राति ८ बजेदेखी मतगणना सुरु हुन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आज भएको उपनिर्वाचनको मतगणना राति ८ बजेदेखि सुरु गरिने बताउनुभएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले उपनिर्वाचन हुने सवै क्षेत्रमा आयोगका आयुक्तसहित विभिन्न संघ सस्थाहरुले पनि अवलोकन र निरीक्षण गरिरहेको बताउनुभयो ।
उहाँले साँझ ५ बजेपछि सवै क्षेत्रको मत पेटिकहरु संकलन गरेर राती ८ बजेदेखिनै मतगणना सुरु गरिने बताउनुभएको हो । थपलियाले भोली विहान ८ बजे सम्ममा ५० प्रतिशत मतगणा सकिने र साँझ सम्ममा धेरै जसो ठाँउको मतपरिणाम आइसक्ने पनि बताउनुभयो ।
देशका विभिन्न निर्वाचन स्थल नजिकै बम विष्फोट
उपनिर्वाचनका लागि मतदान भइरहेको पोखरा महानगरपालिका ९ स्थित नवप्रभात माविमा बम बिस्फोट भएको छ । नयाँबजारस्थित मतदान केन्द्रमा विहान बम विस्फोट भएको हो ।
बिस्फोटबाट कुनै क्षति भने नभएको बताइएको छ । मतदान केन्द्रमा बाहिरबाट बम फ्याँकिएको प्रहरीको भनाइ छ । उता, डोटीका २ छुट्टा छुट्टै स्थानमा बम फेला परेका छन् । बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।
डोटीको आदर्श गाउँपालिका–२, कुचेडा र सोही वडाको कानगडा भन्ने स्थानमा बम भेटिएको हो ।सर्लाहीको हरिपूर्वा नगरपालिका १ मा रहेको मतदान केन्द्रमा पनि बम फेला परेको छ । मतदान केन्द्रमा रहेको पानी खाने अम्खोरामा टाईम बम फेला परेको हो ।
अम्खोराबाट तार निकालेर मोबाइलमा जोडिएको अवस्थामा बम भेटिएको प्रहरीले जनाएको छ । उक्त बम प्रहरीले निष्क्रिय पारेको छ । निर्वान आयोगकाअनुसार अहिले देशका सबै ठाउँमा शान्तीपूर्ण वातावरणमै मतदान भइरहेको छ ।
उपनिर्वाचनका लागि पाँच हजार ५ सय ३२ कर्मचारी खटाइएको अयोगले जनाएको छ । गृह मन्त्रालयको संयोजकत्वमा सबै ठाउँमा सुरक्षाकर्मी परिचालन गरिएको छ । विभिन्न ठाउँमा बम विष्फोटका घटनाहरु भएपनि अहिले सम्म अप्रीय घटना भने नघटेको प्रहरीले जनाएको छ ।