उपनिर्वाचन : ५३७ केन्द्रमा मतदान हुँदै, कास्कीको दुई स्थानमा बम बिस्फोट

काठमाडौं : प्रतिनिधि सभा, प्रदेश सभा सदस्य र स्थानीय तहमा रिक्त ५२ पदमा आज उपनिर्वाचन हुँदै छ । ३७ जिल्लाका २ सय ४७ मतदानस्थलमा ५ सय ३७ मतदान केन्द्रमा उपनिर्वाचन भईरहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार प्रतिनिधि सभातर्फ ३२ मतदान स्थल र ८२ मतदान केन्द्र, प्रदेश सभा सदस्यतर्फ ७८ मतदान स्थल र १७४ मतदान केन्द्र तथा स्थानीय तहतर्फ १३७ मतदान स्थल र २८१ मतदान केन्द्र तोकिएको छ । आयोगका अनुसार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानका लागि समय तोकिएको छ । मतदाता परिचयपत्र लिन नपाएकाले पनि नागरिकता, सवारीचालक अनुमतिपत्र, राहदानी वा राष्ट्रिय परिचयपत्रका आधारमा पनि मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।

प्रमुख आयुक्त दिनेशकुमार थपलियाले अपांगता भएका व्यक्ति, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्न पाउने उचित प्रबन्ध मिलाउन सबै मतदान अधिकृतलाई निर्देशन दिएको बताउँनुभयो । साथै दृष्टिविहीन वा शारीरिक अशक्तता भएका मतदाताले आफैं मत संकेत गर्न नसकेमा एकै घरपरिवारका सदस्यले मतदान अधिकृतको स्वीकृति लिएर वा मतदान अधिकृतको सहयोगमा मतदान गर्न सक्ने व्यवस्था छ । उपनिर्वाचनका लागि सुरक्षाको भरपर्दो प्रबन्ध मिलाएकाले ढुक्क र निर्धक्क भएर मतदान गर्न आयोगले मतदातालाई आह्वान गरेको छ ।

आज हुने उपचुनावमा गण्डकी प्रदेशको कास्कीको क्षेत्र नम्बर २, भक्तपुर, बागलुङ र दाङमा प्रदेश सभाको उपचुनाव हुँदै छ । त्यस्तै धरान उपमहानगरमा नगरप्रमुखका लागि, फाल्गुनन्द गाउँपालिका, सङ्खुवासभाको मकालु गाउँपालिका, हुम्लाको खार्पुनाथ गाउँपालिकाका र महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा अध्यक्षको चुनाव हुँदै छ । विभिन्न नगरपालिका र गाउँपालिकाका ४३ वडाअध्यक्ष पदका लागि पनि मतदान हुँदै छ ।

कास्कीको २ निर्वाचन केन्द्र नजिक बम बिस्फोट ।
पोखरा महानगरपालिका–९ मा रहेको नवप्रभात मावि केन्द्रमा बम बिस्फोट भएको छ । मतदान हुँदै गर्दा बम बिस्फोट भएको प्रहरीले जनाएको छ ।  यसअघि बिहान करिब पौने ८ बजे वडा नम्बर १६ मा रहेको शान्ति मावि मतदान केन्द्र नजिकै पनि बम विस्फोट भएको थियो । मतदान केन्द्रभन्दा केही टाढा विष्फोट गराएर मतदाता त्रसित बनाउँन खोजेको भन्दै प्रहरीले निर्धक्क भएर मतदान गर्न आग्रह गरेको छ । बम बिस्फोट भएको दुवै ठाउँमा मानवीय क्षती भने नभएको कास्की प्रहरीले जनाएको छ । अहिले त्याहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार