काठमाडौं । रुसी महासंघ र गणतन्त्र सर्भियाको औपचारिक भ्रमणमा जानुभएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भ्रमण छोट्याएर स्वदेश फर्किनुभएको छ । उहाँ आज बिहान करिब १० बजे काठमाडौं आइपुग्नुभएको हो ।
पूर्वनिर्धारित कार्यक्रम दुई दिनपछि फर्कने भएपनि मन्त्री ज्ञवाली आज नै स्वदेश फर्कनुभएको हो । विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री ज्ञवालीले देशभित्र विकसित घटनाक्रम र परिस्थितिका कारण आफू छिटो आएको बताउनुभयो ।
तर उहाँले भ्रमण नै छोट्टयाएर फर्कनु पर्ने त्यस्तो परिस्थिति के हो भन्नेबारे भने प्रष्ट खुलाउनुभएन । मन्त्री ज्ञवाली शनिबार रूस प्रस्थान गर्नुभएको थियो । मस्कोमा उहाँले रूसी समकक्षी सर्गेई लाभरोभसँग द्वुपक्षीय भेटवार्ता गर्नुभएको थियो ।
भेटका क्रममा उहाँले रूसी राष्ट्रपति भ्लादमिर पुटिनलाई नेपाल भ्रमण गर्न निम्तो दिएको बताउनुभयो । रूस भ्रमण पश्चात सर्विया गएर परराष्ट्र मन्त्री ज्ञवालीले आज सर्वियाली राष्ट्रपतिलाई भेट्ने पूर्वनिधारित कार्यक्रम थियो ।