खोटाङ : सांगीतिक क्षेत्रको दुनियामा साईनो कला केन्द्र खोटाङ जिल्लाकै लोकप्रिय कला सेन्टर बन्दै गएको छ । राष्ट्रिय स्तरका ख्यातीप्राप्त कलाकारको जन्मथलो रहेको खोटाङमा नवप्रतिभालाई प्रबद्र्धन गर्ने उदेश्यले स्थापना भएको केन्द्रको सक्रियताले पछिल्लो समय लोकप्रिय भएको हो ।
देउसी भैलो मार्फत संकलन भएको रकम मार्फत २०७४ फागुन १ गते स्थापना भएको केन्द्रले हाल सम्म करिब १ सय ५० भन्दा बढी कलाकर्मी उत्पादन गरिसकेको केन्द्रका अध्यक्ष प्रमोद श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यो बर्ष मात्रै ८ जनाले गीत रेकर्ड गराउन सफल भएका छन् । संगीत तर्फ मादल, बासुरी, ड्रमसेट, गितार, तबला, किबोर्ड तथा गायनको सिप समेत सिकाउँदै आएको केन्द्रले यो बर्ष देखीनै नृत्य कक्षा समेत सुरु गरेकोे छ । तृत्य सेन्टरको गत बिहिबार मात्रै दिक्तेल रुपाकोट मझुवागढीका मेयर दिपनारायण रिजालले उद्घाटन गर्नुभयो ।
उक्त कक्षामा सहभागी भएका अधिकांश प्रशिक्षार्थी बिभिन्न ठाउँमा आयोजना हुने प्रतियोगीतामा उत्कृष्ट समेत बन्ने गरेकाछन् । समान्य देखी विभिन्न जिल्लामा हुने महत्वपुर्ण प्रतियोगीतामा उपाधी हात पार्ने सहभागीले सबैभन्दा पहिला साईनो कला केन्द्र खोटाङ्गलाई सम्झन्छन् र धन्यवाद दिन्छन् ।
भिजन आईडल २०७५ को बिजेता समेत रहनुभएका दिप्रुङ चुईचुम्बा गाउँपालिका ४ की प्रबृत्ति राईले यसै बर्ष “तिमीले मलाई छाडी जाँदा” बोलको गीत रेकर्ड गराउनुभएको छ । उहाँले साईनो कला केन्द्र नभएको भए भिजन आईडल र गीत रेकर्डको कुरा कल्पना बाहिर रहेको भन्दै सांगीतिक क्षेत्रको पहिलो आधारशिला साईनोकला केन्द्रनै भएको बताउँनुभयो । कलाकारीता क्षेत्रमा आफ्नो रुची संगै कला केन्द्र सञ्चालन हुँदा सहज भएको उहाँको भनाई छ । आफु जस्ता थुप्रै कलाकारीता क्षेत्रका प्यासीलाई केन्द्रले मद्दत गरिरहेको भन्दै धन्यवाद दिनुभयो ।
उक्त संस्थाले दिक्तेल रुपाकोट मझुवागढी १ भवन गैरामा कार्यलयनै स्थापना गरेर संगीत र नृत्य कलाको कक्षा सञ्चालन गरिरहेको छ । यस केन्द्रले जनशक्ति उत्पादन संगै तीन जनालाई रोजगारी समेत दिएको छ । व्यवस्थापनमा मात्रै बार्षिक २ लाख सम्म खर्च हुने भएपनि स्थानीय तहले सहयोग गर्दा गीत संगीतको क्षेत्रमा काम गर्न सहज भएको केन्द्रले जनाएको छ । यो बर्ष समेत तिहारमा देउसी भैलो आयोजना गरेर संकलन भएको बजेटले व्यवस्थापनलाई चुस्त तथा मजबुद्ध बनाउँने बताईएको छ । विभिन्न जिल्लामा यस्ता कला सेन्टरको आवश्यकता भएपनि सक्रिय सञ्चालन नहुँदा राजधानी लगाएतको क्षेत्रमा हजारौ खर्च गर्नुपर्ने बाध्यताको अन्त्य भएको प्रशिक्षार्थीको भनाई छ । अहिले केन्द्रले मासिक रु.१ हजार र भर्ना शुल्क रु.५ सय लिदै आएको छ । नृत्य कक्षामा भने अहिले धमाधम भर्ना हुने क्रम जारी रहेको केन्द्रका अध्यक्ष प्रमोद श्रेष्ठले जानकारी दिनुभयो । युवाहरुको सक्रियता र सबैको सहयोगले जिल्लामा काम गर्न सफल भएको उहाँको भनाई छ ।