बडा दशैंको आज तेस्रो दिन, माता चन्द्रघण्टाको पूजाआजा गरिंदै

काठमाडौं : बडा दशैंको आज तेस्रो दिन देवी दुर्गा भवानीको तेस्रो रुप माता चन्द्रघण्टाको पूजाआजा गरिंदै छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार मानिन्छ ।

चन्द्रघण्टादेवीको शीरमा अर्धचन्द्रको आभूषण हुने र यो मुकुट घण्ट जस्तो देखिने हुँदा यी देवीलाई माता चन्द्रघण्टा भनिएको हो । चन्द्रघण्टादेवीको वदन वर्ण गुलाबी रङको रहेको शास्त्रहरुमा उल्लेख छ । उनी बाघमाथि चढेकी छन् । उनी क्रोध तथा हिंसा जस्ता अमानवीय तथा आसुरी वृति नास गर्न र सज्जनको रक्षा गर्न यस लोकमा अवतरण गरेको श्रीमद्देवीभागवत लगायतका ग्रन्थमा उल्लेख गरिएको छ ।

चन्द्रमा कलाको प्रतीकको रुपमा लिईन्छ । शास्त्रहरुमा उल्लेख भएअनुसार चन्द्रकलाका साथै प्रकृतिको सिर्जना शक्तिले जगतलाई सुन्दर, समृद्ध र ऐश्वर्यशाली बनाउन देवीको योगदान रहेको छ । चन्द्रघण्टा देवीको कलाप्रभावले गर्दा बालीनाली तथा फलफूलले संसार शष्यशाली र रसपूर्ण भइरहेको मानिन्छ । माता चन्द्रघण्टा भवानीको पूजा आराधनाका लागि भक्तजन आज देवीमन्दिर चण्डीथान देउराली तथा घरघरमा देवीको आराधना गरी भक्तहरुले पूजा गरिरहेका छन् । गाउँघर तथा वस्तीहरुमा देवीको योगदान तथा शक्तिका बारेमा विभिन्न ग्रन्थ तथा स्तोत्र वाचन गरी देवी महिमाको गुणगान, कथावाचन तथा श्रवण गरिंदै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार