काठमाडौं : दक्षिण एसियाकै पहिलो खुल्ला दिसामुक्त देश नेपाल बेनेको छ । सोमबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक समारोहका बीच नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्दै सन् २०३० भित्र नेपाललाई पूर्ण सरसफाईयुक्त राष्ट्र बनाउने अभियानमा अग्रसर हुन पनि सबैलाई आह्वान गरे । उनले सबै जिल्ला, प्रदेश र स्थानीय तहको अथक प्रयासबाट नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्न सफलता हात परेको पनि स्मरण गराए ।
सन् २०११ मा सूरु गरिएको सो अभियान विद्यालय तह, वडा, गाविस र जिल्ला तहमा सुरु गरिएको थियो । नेपालको कुल ७५३ स्थानीय तह ७७ वटै जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा पछि नेपाललाई खुल्ला दिसामुक्त घोषणा गर्न बाटो खुलेको थियो । नेपालको पाहिलो खुल्ला दिसामुक्त जिल्ला कास्की थियो भने अन्तिम जिल्ला भोजपुर थियो ।