थुलुङदुधकोशीले गाउँप्रहरी भर्ना गर्दै, १५ दिने विज्ञापन खुल्यो

सोलुखुम्बु : थुलुङदुधकोशी गाउँपालिका आफैँले प्रहरी नियुक्त गर्नेभएको छ । गाउँकार्यापालिकाले पारित गरेको गाउँ प्रहरी ऐनअनुसार पाँचजनाको दरबन्दीमा प्रहरी नियक्त गर्ने लागेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।

एकजना वरिष्ठ गाउँ प्रहरी राजपत्रानकिंत चतुर्थ श्रेणी र अन्य श्रेणीविहीन तहमा चारजना गाउँ प्रहरीको लागि दरखास्त आव्हान गरेको गाउँपालिकाले जनाएको छ । वरिष्ठ गाउँ प्रहरीको लागि एसएलसी उत्तीर्ण गरेका २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको पाँच वर्ष नेपाल प्रहरी वा अन्य सुरक्षा निकायको जवान पदमा सेवा गरेको हुनुपर्ने विज्ञापनमा उल्लेख गरिएको छ । यस्तै श्रेणीविहीन गाउँ प्रहरीका लागि भने कक्षा ८ उत्तीर्ण गरेको पुरुषका लागि २५ वर्ष पूरा भई ३५ ननाघेको र महिलाको लागि ४० वर्ष ननाघेको जो कोहीले दरखास्त दिन सकिने प्रमुख प्रशासकिय अधिकृत अबिलाल राईले जानकारी दिए ।

न्याय सम्पादनमा सहज हुने
गाउँपालिकाको योजनालाई कार्यान्वयन गर्न सहयोग गर्ने उद्देश्यसहित गाउँ प्रहरी नियुक्त गर्न लागेको अध्यक्ष राईको भनाई छ । स्थानीय सरकारको अधिकार प्रयोग गरि नियक्त गरिएको ती प्रहरीले आफ्नो क्षेत्रभित्र शान्ति सुव्यवस्था कायम गर्ने लगाएतको काम गर्ने उनको भनाई छ । आगामी वर्ष गाउँप्रहरीको कोटा थप गर्ने उनको भनाई छ । गाउँ प्रहरी नहुँदा न्याय सम्पादनमा समेत समस्या हुनेगरेको न्यायीक समिति संयोजक एवं उपप्रमुख सविता राईले बताईन् । पक्ष विपक्षलाई झिकाउन समेत समस्या हुने गरेकाले अब देखी उनीहरुलाई घरैमा गएर पक्राउ गरि ल्याउन सक्ने हुँदा न्याय सम्पादनमा पनि सहजता आउने उनको विश्वास छ । मेलमिलापको क्रममा कुनै समयमा दुवैपक्ष आक्रोसीत हुँदा झगडाले ठूलो रूपसमेत लिन सक्ने संभावना हुनेभए पनि गाउँप्रहरी भएपछि ती त्यस्ता विषयमा समेत सहज हुने उप्रमुख राईले बताइन् ।

स्थानीय सकारको अधिकार पुर्णरुपमा प्रयोग
स्थानीयले समेत थुलुङदुधकोशीले स्थानीय सरकारको अधिकार प्रयोग गरेको भन्दै खुसी व्यक्त गरेका छन् । नेलेका स्थानीय रोशन पौडेलले शिक्षक सरुवादेखि अन्य विभिन्न क्षेत्रमा अधिकार प्रयोग गर्दै स्थानीय सरकारको आभाष दिलाउन सफल भएको बताए । ऐन कानुन निर्माण देखी कार्यान्वयनमा समेत गाउँपालिका कठोर ढंगले अगाडी बढेको गाउँपालिका ७ का खिम बहादुर केसीको भनाई छ । जिल्लाका गाउँपालिका मध्ये आफैले गाउँप्रहरी नियुक्त गर्ने थुलुङदुधकोशी पहिलो हो । यसअघि नगरपालिकाले भने विगत २ वर्षदेखि नै नगर प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जना नियुक्त गरेको छन् । उनीहरूलाई बढीजसो नगरपालिका सरसफाईमा प्रयोग गर्ने गरिएको प्रत्यक्षदर्शीले बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार