सरिता राई –
काठमान्डौ : मेरापिक क्षेत्र भ्रमणमा आएका एक जना पर्यटकको लेक लागेर मृत्यु भएको छ । मंगलबार मृत्यु हुनेमा भारतीय मूलका ३३ वर्षीय गोविन्द लखमान रहेको सोलुखुम्बु प्रहरीले पुष्टि गरेको हो । करिब चार हजार २०० मिटरको उचाइमा लेक लागेर उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए ।
आठ जनाको उद्धार
लेक लागेर बिरामी परेका आठ जनाको उद्धार गरेको पनि सोलुखुम्बु प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिरामी भई अलपत्र परेका ७ विदेशी र एक नेपालीसहित ८ जनाको भने उद्धार गरिएको छ । उनीहरुलाई कैलाश र डाइनेष्टि एअरका हेलिकोप्टर मार्फत काठमाडौं लगिएको प्रहरीले जनाएको छ । केही दिनयता लगातार परेको वर्षाले पर्यटकहरुलाई भ्रमणमा समस्या बताईएको छ । निरन्तरको बर्षात र बाक्लो हुस्सकुका कारण खुम्बु क्षेत्र भ्रमणका आएका सयौ पर्यटक लुक्लामा झरेर बसेका छन् ।
हेलिकोप्टरको समेत यात्रा सहज भएन ।
केही पर्यटक करिब डेढ घण्टा पैदल यात्रा पछि सुर्के आएर हेलिकोप्टर मार्फत काठमान्डौ जाने कोशीस गरेपनि सहज पुग्न सकेनन् । मंगलबार बिहान चौरीखर्क र सुर्केबाट करिब ११ वटा हेलिकोप्टर मार्फत काठमान्डौ गएका विदेशी सहित केही नेपाली यात्रु पाँचखाल, रामेछाप र काभ्रेको विभिन्न खेतबारीमा समेत बस्न बध्य भएका थिए ।
मौसम खुलेको मौकामा सिम्रिक र कैलाश एयरका एक–एक वटा हेलिकप्टर बिहान साढे ८ बजेनै काठमाण्डौ अवतरण भएका थिए । नागरिक उड्यान प्राधिकरण लुक्लाका प्रमुख इमनाथ अधिकारीका अनुसार अन्य ८ वटा हेलिकप्टर समेत काठमाण्डौको लागि उडे पनि अन्तिममा एउटा हेलिकप्टर उड्न नपाउँदै मौसम बिग्रिएको थियो । दिनभरि रोकिएपछि ८ वटा हेलिकप्टरमध्ये सिम्रिकका २ वटा, अल्टिच्यूडको एउटा, कैलाशको एउटा र मनाङको एउटा हेलिकप्टर काठमाण्डौ अवतरण गरेको बताईएको छ । तर फेरि मौसम बिग्रिएपछि सिम्रिक, श्री र समिट एयरका एक–एकवटा हेलिकप्टर रामेछापको मन्थली विमानस्थलमा बसेका छन्् । सुर्केको हेलिकोप्टर भने साझ पख लुक्लानै फर्केको छ ।