डेंगु संक्रमितको संख्या चितुवनमा मात्रै दुई हजार नाघ्यो

चितवन : जिल्लाका अस्पतालहरुमा साउन महिनायता उपचार गर्न आएका दुई हजार ४६ जनामा डेंगुको संक्रमण देखिएको छ । छ हजार ६३९ जनाको नमूना परीक्षण गरिएकामा सो संख्यामा संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार दैनिक संख्यामा संक्रमित बढ्दै गएको छ । सरकारी र निजी अस्पतालहरु ज्वरोका बिरामीले भरिएका छन् । डेंगुको संक्रमण बढेसँगै जनचेतनाका कार्यक्रमहरु निरन्तर रुपमा भइरहेको उनले जनाकारी दिए ।

स्वास्थ्यसचिव डा.पुष्पा चौधरी सोमबार यहाँ आई सरोकारवालाहरुसँग अन्तरक्रिया गरेर मातहतका निकायमा आवश्यक निर्देशन दिएको तिवारीले जानकारी दिए । तिवारीका अनुसार सचिव चौधरीले सबै निकायको संयुक्त प्रयास बिना रोग निधान नहुने भएकाले समन्वय गरी काम गर्न उनले निर्देशन दिएका छन् । लार्भा खोज र नष्ट गर अभियान नै उपयुक्त विकल्प भएकाले सोहीअनुसार अघि बढ्न सचिव चौधरीले सबैसँग आग्रह गरेका छन् ।

डेंगुका बिरामी थपिँदै जाँदा परीक्षण गर्न कीट अभाव हुने गरेको छ । जसका लागि सहयोग पुर्‍याउन उद्योग वाणिज्य संघ चितवनले आज भरतपुर अस्पताललाई ५०० वटा कीट उपलब्ध गराएको छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको उपस्थितिमा संघका अध्यक्ष सहनलाल प्रधानले भरतपुर अस्पतालका निमित्त प्रमुख डा प्रकाश खतिवडालाई कीट हस्तान्तरण गरेका हुन् । यसअघि भरतपुर महानगरपालिकाले एक हजार वटा र रोटरी क्लबको अगुवाइमा ५०० वटा कीट अस्पताललाई उपलब्ध गराइएको थियो । भरतपुर अस्पतालमा दैनिक ४०० भन्दा बढी ज्वरोका बिरामी आउने गर्दछन् । यसमध्ये १५० हाराहारीको डेंगु परीक्षण गरिने गरेको अस्पतालले जनाएको छ । अस्पतालमा निशुल्क रुपमा डेङगु परीक्षण हुन्छ भने निजीमा महङ्गो शुल्क तिर्नुपर्ने हुन्छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार