काठमाडौं । । पति–पत्नी झगडालाई परालको आगो भनिन्छ । केहिबेर दन्किन्छ, अनि केही क्षणमै निभ्छ । तर जालमान र शिलाको झगडाको आगो निभेन । साउन २५ गते पति–पत्नी एकआपसमा लड्न थाले । त्यही घरमा बस्ने बालिकाले दुवै जनाबीचको झगडा देखिरहेकी थिइन् । ती बालिकाले अन्य कोठामा बस्नेहरूलाई झगडाबारे सुनाइन् ।
त्यत्तिकैमा केहि महिला झगडा छुटाउन आए । जालमानले शिलालाई दुई मुक्का हाने । त्यसपछि रिसले आगो बनेकी शिलाले नजिकै रहेको तरकारी काट्ने चक्कु बोकेर आइन् । त्यहाँ रहेका महिलाले जालमानलाई कोठा बाहिर ल्याए । शिलालाई भने ढोकाभित्रै थुनिदिए । तर उनले बल गरेर ढोका खोल्दै जालमानमाथि एकाएक चक्कु प्रहार गरिन् । छाती र ढाडमा चक्कु प्रहार भएपछि जालमान बेहोस भएर भुइँमा लडे । शिलाको रिस मत्थर भैसकेको थिएन उनी अझै चक्कु प्रहार गर्न खोज्दै थिइन् । अरूले लौन नी जालमानको ज्यान गयो भन्दै अस्पताल लैजानुपर्यो भनेपछि मात्रै शिला होसमा आइन् । त्यतिखेरसम्म जालमानको ज्यान गइसकेको थियो ।
प्रेम विवाह भएको थियो उनीहरुबीच । अगाढ माया थियो, त्याग थियो, समर्पण पनि । अन्तिम संस्कारका लागि जम्मुडाँडा पुर्याइएको जालमानको शव देखेपछि शिला बेहोस भइन् । आत्मग्लानीसहित प्रहरी हिरासतमा छिन शिला यत्तिखेर । बुबा जालमानको हत्या र आमा शिला प्रहरी हिरासतमा भएपछि ९ महिने छोरा अनाथ भएका छन् ।
रिस अन्धो हुन्छ । रिसले विवेक गुम्छ । रिस उठेपछि केही पनि देख्न र सहन सकिँदैन । त्यसैले रिस उठ्दा मुखमा पानी हालेर बस्नुपर्छ भन्ने उक्ति अझै सान्दर्भिक छ । जालमानको हत्या क्षणिक रिसलाई नियन्त्रण गर्न नसक्दाको परिणती हो । आवेगमा कुनै पनि निर्णय गर्नु आफ्नै लागि दुर्भाग्य हुनसक्छ । रिस नियन्त्रण नै सबैभन्दा बुद्धिमानी हुन्छ ।