गत बिहिवार राती ९ बजे चार जना सुरक्षाकर्मीहरुले एक जना अन्दाजी डेढ वर्षीय बालिकालाई लिएर जनकपुरधामको कबीर बाल आश्रममा पुगे । कबीरपन्थी सत्यनारायण आलोकले संचालन गर्दै आएको सद्गुरु कबीर अनाथ वाल वात्सल्यमा पुग्दा संचालक सत्यनारायण आलोक एक जना अर्को अनाथ बालकलाई लिएर अस्पतालमा उपचार गराउँदै थिए ।
त्यहाँबाट आश्रमकी आमा मीराले सत्यनारायण लाई फोन गरेर प्रहरीले उक्त बालिकालाई आश्रममा राख्न भनेको प्रहरीले पत्ता लगायो । सत्यनारायणले अस्पतालबाटै धनुषाका प्रहरी उपरीक्षक शेखर खनाललाई फोन गरेर किन प्रहरीलाई बालिका सहित पठाएको भनेर बुझ्ने प्रयास गरे ।
‘जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ स्थित नेकपाका नेता गंगाराम यादवको घर अगाडि मोटरसाइकलमा आएका दुई जनाले उक्त बालिकालाई छोडेर गएकाले त्यहाँ नै राख्नका लागि मैले नै पठाएको हो,’ एसपी खनालले आश्रम संचालक सत्यनारायणलाई बताए ।
‘अहिले सम्मको स्थिति हेर्दा शुक्रवार साँझसम्म पनि बालिका हराएको भनेर जिल्लामा कहीं कतै उजुरी समेत नपरेकाले उक्त बालिका हराएको जस्तो देखिँदैन, जानी जानी बालिकाकी आमाबुवाले छोडेर गएको हो जस्तो लागेकाले आश्रममै राख्नुस भनेर शुक्रवार पनि एसपी साहेबले भन्नु भएको छ,’ सत्यनारायण आलोकले लोकान्तरसँग भने, ‘बालिकालाई एउटा ब्याग दिएर त्यसमा कपडा समेत राखेको हुनाले छोडेर नै गएको बुझिन्छ ।’
बिहीवार रातिदेखि शुक्रवारसम्म उक्त बालिकालाई हसाउने, बोलाउने धेरै प्रयास गरिएको भए पनि ती बालिकाले न त हाँसेकी छिन् न त केही शब्द बोलेकी छिन् । मात्र मैयाँ, मैयाँ भनेर भनेकी छिन । उनलाई बोल्न अप्ठेरो भइरहेको छ ।
‘आश्रममा रहेका अन्य बाल बालिकाले उनलाई खुशी पार्न धेरै प्रयास गरे पनि हाँस्न सकेकी छैनन्, त्यसैले अहिले तत्कालका लागि हामीले ती बालिकाको नाम नै खुशी राखिदिएका छौं,’ सत्यनारायणले बताए ।
उक्त बालिकालाई आश्रमकी आमा मीराले स्याहार सुसार गरेकी छन् । ‘आमा वा बुवा मध्ये कोही लभ म्यारेज गर्न खोजेको वा अन्य व्यक्तिसँग सम्बन्ध बनाएर भागेको हुन सक्ने अनुमान गरिएको छ । बालिका हराएको होइन, जानी जानी छोडेर भागेको हो, त्यसैले अब कोही ती बालिकालाई लिन नआए हामीले नै राख्ने छौं,’ उनले बताए ।