पत्रकार पुडासैनीले डोरी किनेको पसल भेटियो

चितवनको नारायणगढस्थित होटल कंगारुमा मृत फेला परेका पत्रकार शालिकराम पुडासैनीले डोरी किनेको पसल भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका एक अधिकारीका अनुसार पुडासैनीले साउन २० गते नारायणगढ बसपार्ककै एक होलसेल पसलबाट ५ मिटर डोरी किनेका थिए । प्रहरीका अनुसार पुडासैनीले डोरी किनेको सीसीटीभी फुटेज पनि फेला परेको छ । प्रहरीले उक्त पसलको सीसीटीभी फुटेज लिएर थप अनुसन्धान थालेको छ ।

प्रहरीका अनुसार पुडासैनीले लुगा सुकाउन भन्दै पसलबाट ५ मिटर डोरी किनेर लगेको पसल सञ्चालकले बयान दिएका छन् ।

‘पसलबाट डोरी किनेको सीसीटीभी फुटेज नै भेटिएको छ, यस सन्दर्भमा थप अनुसन्धान भइरहेको छ,’ चितवन प्रहरीका एक अधिकारीले भने, ‘भिडियो फुटेजमा उनी केही बेरसम्म पसलमा बसेको र पसल सञ्चालकले कामदारलाई डोरी दिन भनेर पुडासैनीले प्लास्टिकको झोलामा डोरी राखेर लगेको देखिएको छ ।’

लुगा सुकाउन भन्दै पुडासैनीले ५ मिटरजति डोरी मागेको पसल सञ्चालकले सोधपुछका क्रममा प्रहरीलाई बताएका छन् । तर, पसल सञ्चालकले यो होलसेल पसल हो, यहाँ ५ मिटर डोरी दिँदैनौंभन्दा पनि पुडासैनी अन्य पसलमा गएनन् ।

‘पसल सञ्चालकले होलसेल पसलमा ५ मिटर डोरी बेच्दैनौ भन्दा पनि उनी (पुडासैनी) अन्य पसलमा गएनन्, उनी त्यहाँ १० मिनेटभन्दा पनि बढी रोकिएपछि पसल सञ्चालकले अन्ततः ५ मिटर डोरी काटेर दिन कामदारलाई भनेको बयान दिएका छन्,’ चितवन प्रहरीका एक अधिकारीले भने, ‘यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’

प्रहरीले सोही पसलबाट किनेको डोरीमा झुन्डिएर पुडासैनीले आत्महत्या गरेको जनाएको छ । ‘यस विषयमा अहिले पनि पूर्ण प्राविधिक रिपोर्ट आउन बाँकी छ, यद्यपि आत्महत्यामा त्यहि डोरी प्रयोग भएको देखिन्छ,’ ती प्रहरी अधिकारी भन्छन् । पुडासैनीको शवको परीक्षण रिपोर्ट पनि अहिले प्रहरीकहाँ पुगिसकेको छ । यद्यपि यो रिपोर्ट भने अझै सार्वजनिक गरिएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार