डोटी– सरकारले श्रीमान् बितेका एकल महिला तथा वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता दिइरहेका बेला डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिकाले ५० वर्षको उमेरसम्म पनि बिहे नगरी एकल जीवनयापन गरिरहेका महिलालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ ।
नगरपालिकाको आर्थिक वर्ष २०७६,७७ को नीति, कार्यक्रम तथा बजेटमार्फत बिहे नगरी एकल जीवनयापन गरिरहेका महिलालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने कार्यक्रमलाई अगाडि बढाएको हो । कम्तीमा पनि ५० वर्षसम्म बिहे नगरी एकल जीवनयापन गरिरहेका महिलालाई वैकल्पिक व्यवस्था नभएसम्म सामाजिक सुरक्षा भत्ता नगरपालिकाले प्रदान गर्ने र उनीहरुलाई सीपमूलक कार्यक्रममा समावेश गरी आयआर्जनका क्रियाकलापमा जोड दिइने नीति नगरपालिकाले लिएको नगर प्रमुख मञ्जु मलासीले बताए ।
आगामी मङ्सिर महीनादेखि उक्त कार्यक्रम शुरुआत गर्ने गरी कार्यविधि तयार गरिने नगरपालिकाले योजना बनाएको छ । बिहे नगरी बसेका एकल महिलाका क्षेत्रमा दिपायल सिलगढी नगरपालिकाले यो नौलो कामको शुरुआत गर्न थालेको नगरपालिकाका सामाजिक विकास अधिकृत रमेशचन्द्र जोशीले बताए । दिपायल सिलगढी नगरपालिकामा ५० वर्षसम्म बिहे नगरेर एकल जीवनयापन गरिरहेका थुप्रै महिला हुनसक्ने अनुमान गरिएको छ ।