प्राकृतिक नाकाबन्दीका कारण लिम्चुङबुङ संकटग्रष्ट क्षेत्र घोषणा,

उदयपुर/ उदयपुरको लिम्चुङबुङ गाउँपालिकालाई संकट ग्रष्ट क्षेत्र घोषणा गरिएको छ । चर्को खडेरीको मारमा परेको गाउँ गाउँपालिका फेरी अबिरल बर्षाका कारण संकटग्रस्त बन्न पुगेको छ ।

सदरमुकाम आवतजावत गर्ने मुख्य सडकहरु क्षतविक्षत भएसंगै खाद्यान्न अभाव सिर्जजना भएपछि गाउँ कार्यपालिकाको बैठकले पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको गाउँपालिकाका अध्यक्ष मेजर कुमार राई (मिजास किराती)ले बताउनुभयो ।

गाईघाट–मुर्कुची–लिम्चुङबुङ–हलेसी सडक क्षतीग्रस्त छ । यस्तै गाईघाट–फोक्सिनटार–लिम्चुङबुङ सडक र कटारी–बेतेनी–इनामे–लिम्चुङबुङ सडक पनि उत्तिकै क्षतीग्रस्त बनेको छ । पहिरो र भेलले सडक अवरुद्ध भएपछि कुनै पनि सवारी साधन सञ्चालन हुन सकेका छैनन् ।

सवारी साधन नचलेपछि स्थानिय बासिन्दाहरुलाई आवतजावत र खाद्यान्न लगायत दैनिक उपभोग्य सामग्रीहरु ढुवानीमा समस्या परेको छ । यता लिम्चुङबुङ, ताप्लि, र रौतामाई गाउँपालिकाका स्थानीयहरु पैदलयात्रा गर्न बाध्य छन् भने खाद्यान्न पिठ्यूमा बोक्न बाध्य छन् ।

लिम्चुङबुङबाट २२ कोष टाढा रहेको सदरमुकाम जान र आउन अहिले २ देखि ३ दिन लगाएर जनप्रतिनिधिहरु, सरोकारवाला, कर्मचारी शिक्षक लगाएत स्थानियहरु हिडेर यात्रा गर्न बाध्य छन् । पालिकाले छिमेकी स्थानीय सरकार ताप्लि र रौता गाउँपालिकालाई बिपतको सामुहिक सामना गर्न बिशेष अनुरोध गरेको छ ।

यस्तै जिल्ला सयन्वय समिति, प्रदेश र संघका सांसदहरू, राजनीतिक दल लगायतलाई पनि सहयोगको लागि अनुरोध गरेको पालिकाले जनाएको छ । पालिकाले खाद्यन्न संकट ब्यबस्थापन र पहिरोबाट तहसनहस भएको सडकलाई पुनः सञ्चालनमा ल्याउन तयारी शुरू गरेको छ । साथै सम्बन्धीत निकायहरुलाई पनि विशेष सहयोगको आग्रह गरेको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार