मस्को, २९ असार । रूसमा चलिरहेको फिफा विश्वकप फुटबल प्रतियोगितामा अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेसीले गरेको सानो कामले सबैको मन जितेका छन् । जारी विश्वकपमा अर्जेन्टिनाको सुरुवात गतिलो रहेन । उसले सुरुवाती दुई खेलमा जित पनि निकाल्न सके । यी दुई खेलपछि एक पत्रकारले उनलाई गुडलकका लागि रिबन दिँदै साथमै राख्न भने ।
त्यसपछि जब अर्जेन्टिनाले नाइजेरियालाई हराउँदै अन्तिम १६ पुग्यो तब खेलपछि उनै पत्रकार एक पटक फेरि मेसीलाई भेट्न पुगे र आफूले दिएको रिबनबारेमा जिज्ञासा राखे । त्यसपछि मेसीले जे गरे, त्यो देखेर ती पत्रकारसहित उपस्थित सबैजना मेसीसँग कायल भए ।
१६ जूनमा आइसल्यान्डसँग बराबरी खेलेपछि अर्जेन्टिनाको विश्वकप यात्रा सुरु भएको थियो । यस खेलपछि अर्जेन्टिनाका एक पत्रकार रेमा पेन्टोरोटोले मेसीसँग भनेका थिए, ‘मेरी आमाले मलाई यो तपाईँलाई दिनु भनेकी छन् । मेरी आमा मलाई भन्दा धेरै माया तपाईँलाई गर्छिन् । म उनले दिएको रातो रिबन गुड लकका लागि साथमै राख्छु । यदि तपाईँले चाहेमा म दिन सक्छु । यो मेरी आमाले दिएको हुनाले यसलाई जतनसाथ राख्नू ।’
२६ जुनमा अर्जेन्टिनाले आफ्नो तेस्रो खेलमा नाइजेरियालाई २-१ ले हरायो । यस खेलपछि अर्जेन्टिनाले अन्तिम १६ को यात्रा पनि तय गर्यो ।
नाइजेरियासँग भएको खेलपछि तिनै पत्रकार एक पटक फेरि मेसीलाई भेट्न गए र आफूले दिएको रिबनबारे जिज्ञासा राखे । ‘मलाई थाहा छैन, जहाँसम्म मेरी आमाले दिएको रिबन तपाईँलाई दिएको कुरा सायद भुलिसक्नु भयो होला ?’
पत्रकारले प्रश्न गर्नेबित्तिकै मेसीले जे गरे, त्यो देखेर उनी आश्चर्यचकित भए । मेसीले आफ्नो देब्रे खुट्टालाई माथि उचाल्दै भने, ‘लौ यसलाई हेर ।’
मेसीले यति गरेपछि ती पत्रकार चकित परे । ‘म पत्याउनै सक्दिन, के तपाईँले यसै खुट्टाबाट गोल गर्नु भएको थियो ?’ मेसीले भने, ‘होइन मैले अर्को खुट्टाले गोल गरेको थिएँ, तर यसले कुनै फरक पार्दैन ।’ त्यसपछि ती पत्रकार अगाडि भन्छन्, ‘आमा मेसीले रिबनलाई बाँधेका छन् ।’ त्यसपछि उनी आफ्ना दुवै हात माथि उठाएर माथितिर हेर्न थाल्छन् ।
भिडियो :