डा. केसीको स्वास्थ्य कमजोर बन्दै, माग सम्बोधन गर्न माग गर्दै बालुवाटारमा समर्थकद्वारा धर्ना !

काठमाडौं, २८ असार । चिकित्सा क्षेत्रको सुधारको माग राख्दै विगत १३ दिनदेखि जुम्लामा अनशनरत् प्रा. डा. गोविन्द केसीको माग सम्बोधन गर्न भन्दै डा. केसीका समर्थकहरुले बालुवाटारमा धर्ना दिएका छन् ।

बिहीबार ‘सोलिडारिटी फर डा. गोविन्द केसी एलाइन्स’को आयोजनामा डा. केसीका समर्थकहरुले प्रधानमन्त्री निवास बालुवाटारअगाडि धर्ना दिएका हुन् । इमेज खबरमा समाचार छापिएको छ ।

‘माफियामुखी ऐन चाँहिदैन’, ‘नेपालको सत्ता, चिकित्सा ऐन बेपत्ता’, ‘जुम्लामा एमबीबीएस पढाइ कहिले हुन्छ, प्रधानमन्त्रीज्यू ?’ जस्ता नारा लगाउँदै धर्ना दिइएको थियो ।

धर्नाक्रममा प्रधानमन्त्रीलाई मार्सी चामल उपहार दिने भन्दै ल्याइएको थियो ।

यस्तै, उनीहरुले आगामी शनिबार माइतीघरमन्डलामा डा. केसीको मागमा ऐक्यबद्धता जनाउन कार्यक्रम गर्ने जनाएका छन् ।

उता, १३ दिनदेखि अनशनरत् डा. केसीको स्वास्थ्य अवस्था भने झन् कमजोर बन्दै गएको छ ।

उनको छातीमा समस्या देखिएको छ भने मांसपेसी सुन्निने, बाउँडिने, ब्लडप्रेसर कम हुने भएको छ ।

रगतमा अक्सिजनको मात्रा कम हुँदै गएको छ भने सेतो रक्तकोषहरु कम हुँदै गएको उनको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

डा. केसीको स्वास्थ्य कमजोर बन्दै गएपछि बुधबार हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी गरिएको थियो । तर, डा. केसी काठमाडौं आउन मानेनन् भन्दै हेलिकोप्टर पठाइएन ।

माथेमा प्रतिवेदनले दिएको सुझावअनुसार नै चिकित्सा शिक्षा विधेयक ल्याउनुपर्ने माग राख्दै डा. केसी १५औंपटक अनशनमा छन् ।

यता, नेपाल चिकित्सक संघले भने डा. केसीको माग सम्बोधन गराउन पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल र बाबुराम भट्टराईलाई भेटेर आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार