सोलुखुम्बु : सोलुखुम्बुका ३ स्थानिय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । गएको असोज १२ गते परेको अविरल वर्षाका कारण मानविय क्षति भएको तथा भौतिक संरचनामा क्षति भएको आधारमा सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका, माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङ ल्हामु गाउँपालिकालाई घोषणा गरिएको हो ।
सोलु दुधकुण्ड नगरपालिकामा पहिरोका कारण मानविय क्षति भएको तथा मुख्य राजमार्ग पहिरोका कारण अवरुद्ध भएको, माप्य दुधकोशी गाउँपालिकामा मुख्य पक्की पुलमा क्षति भएकाले संकटग्रस्त क्षेत्र घोषणा गरिएको जनाएको छ । यस्तै खुम्बु पासाङ ल्हामु गाउँपालिकामा नदीको तटिय क्षेत्र डुबानमा परेको गृह मन्त्रालयले जनाएको छ । सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले संकटग्रस्त क्षेत्र घोषणा गरिएका पालिकालाई तीन समूहमा वर्गीकरण गर्दै ५० लाख देखि १ करोडसम्मको राहत दिने निर्णय गरिसकेको छ । सोलुखुम्बुका तिन स्थानिय तहहरुले ५०÷५० लाख पाउने भएका छन । यस्तै मनसुनका कारण मृत्यु भएका व्यक्तिको परिवारका एक जना व्यक्तिको बीमा गर्न पनि सिफारिस गर्ने निर्णय गरेको छ ।