सोलुखुम्बु: माप्य दुधकोशी गाउँपालिकाको कार्यपालिका बैठकले विपतका कारण भएको क्षतिको विषयमा विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ ।
गाउँपालिका अध्यक्ष बुद्धि किरण राईको अध्यक्षतामा आज आइतबार बसेको बैठकले विभिन्न महत्त्वपूर्ण निर्णय गरेको हो ।
बैठकले साउन ३२ गते खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ थामेमा हिमताल फुटेर भएको क्षतिको विषयमा छलफल गर्दै पीडित परिवारहरूलाई गाउँपालिकाले २८ लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय गरेको माप्य दुधकोशी गाउँपालिका उपाध्यक्ष गौरव राईले जानकारी दिनुभयो ।
थामेका बाढी पीडितलाई खुम्बु पासाङल्हामु गाउँपालिकाले तयार पारेको नीति तथा प्रक्रिया अनुसार राहत रकम दशैँभन्दा अगाडि नै उपलब्ध गराउने उपाध्यक्ष राईको भनाइ छ ।
यस्तै साउन ३२ गतेको बाढीले क्षति हुन पुगेको माप्य खुम्बु मितेरी मोटरेबल पुलको निर्माण कार्यलाई विज्ञको रिपोर्टिङ अनुसार तत्काल सुरु गर्ने निर्णय गरिएको छ भने गाउँपालिकामा स्वास्थ्य क्षेत्रलाई व्यवस्थित रूपमा सञ्चालन गर्न निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।
बैठकले गाउँपालिका भित्रको सडकलाई तत्काल सरसफाइ गर्ने निर्णय गरेको उपाध्यक्ष गौरव राईले बताउनुभयो ।