सोलुखुम्बु : जिल्लाको पञ्चनमा निर्माण सम्पन्न ८६ मेगावाटको सोलु दुधकोशी हाइड्रोपावरले बुधबारबाट परीक्षण विद्यु्त उत्पादन सुरु गरेको छ । साहस उर्जा कम्पन्नीले निर्माण गरेको देशकै तेस्रो ठुलो आयोजनाले बुधबारबाट परीक्षण उत्पादन सुरु गरेको हो ।
कम्पनीका अध्यक्ष हिम पाठकका अनुसार अब केहीदिन परीक्षण उत्पादन जारी रहने छ । आयोजनाले दुई हप्तापछि व्यवसायिक उत्पादन थाल्ने छ । व्यवसायीक उत्पादनपुर्व उत्पादित विद्मुत नेपाल विद्युत प्राधिकिरणलाई निशुल्क उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
उत्पादित विद्मुत १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको तिङ्ला स्थित लाम्माने सबस्टेसनमा जोडिएको छ । यसअघि २०७८ चैतबाट नै विद्युत उत्पादन सुरु गर्ने आयाेजनाकाे तालिका भएपनि कोभिड–१९ महामारीको प्रभाव, प्रसारण लाइन निर्माणमा भएको ढिलाई, उपकरण ढुवानी समस्या लगायत्ले तालिका सरेको कम्पनीले जनाएको छ । यो आयोजना सम्पन्न गर्न करिब ११ अर्ब ८६ करोड रुपैयाँ लागेकाे अनुमान गरिएको छ । आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकसहित ९ बैंकले ८ अर्ब ६५ करोड रुपैयाँ लगानी गरेका छन् । बाँकी २ अर्ब ४५ करोड रुपैयाँ संस्थापक र १ अर्ब ५ करोड रुपैयाँ साधारण शेयरबाट जुटाइएको छ ।