धनगढीः विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि धनगढीकाे स्थिति तनावग्रस्त बनेको छ। प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा तोडेर प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको हो ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले अहिलेसम्म ३८ सेल अश्रुग्याँस प्रहार प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयाे ।यस्तै आन्दोलनमा संलग्न विद्यार्थी र स्थानीय महिला गरी २१ जनालाई पक्राउ गरेको बताइएकाे छ ।
ग्रेडरको ठक्करबाट बिहीबार १५ वर्षीया बालिका चेतना साउँदको मृत्यु भए पछि न्यायको माग गर्दै स्थानीय तथा विद्यार्थीहरु बिहानैदेखि प्रदर्शन गरिरहेका छन् । उनीहरुले दोषीलाई कारबाहीको दायरमा ल्याउनुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । बिहीबार बिहान धनगढी उपमहानगरपालिका ५ स्थित पिपलचौतारा नजिकै कालिका कन्स्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिँदा साइकलमा विद्यालय गइरहेकी साउदको घटनास्थलमै मृत्यु भएको थियो ।
स्थिति सामान्य नभएसम्मका लागि अनिश्चितकालीन निषेधाज्ञा जारी रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताउँनुभयाे । पीडित पक्षलाई छलफलका लागि बोलाइएको र छलफल जारी रहेको प्रशासन कार्यालयले जनाएकाे छ ।