धनगढी : सुदूरपश्चिममा राजमार्गहरु अवरुद्ध बनेका छन् । वर्षापछि आएको बाढी तथा पहिरोका कारण प्रदेशका केही राजमार्गहरु अवरुद्ध बनेका हुन। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार अहिलेसम्म बझाङ, बैतडी र दुर्चाला जोड्ने सडक अवरुद्ध भएको छ ।
बझाङको जालेबगरमा सेती नदीले कटान गर्दा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । यस्तै बैतडी र दार्चुलामा पहिरो खसेपछि यातायात सेवा प्रभावित भएको छ भने दार्चुलाको शैल्यशिखरमा पर्ने नङतड, बैतडीको पाटनमा पर्ने थुम, सुनर्याको भन्ज्याङ भन्ने स्थानमा पनि पहिरो खसेपछि सडक अवरुद्ध भएको बताइएको छ । अहिले पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
महाकाली र सेतीमा वहाव बढ्ने, सतर्क रहन आग्रह
सुदूरपश्चिममा पर्ने महाकाली, सेती र कर्णाली नदीहरुमा पानीको वहाव बढ्ने पूर्वानुमान गरिएको छ । प्रदेशमा भारी वर्षा भइरहेकाले यी नदीसँगै अन्य साना नदीहरूको वहाव बढ्ने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले प्रदेशका ९ ओटै जिल्ला आसपास भइ बग्ने नदीहरुको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । विशेषगरी नदीहरूका तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।