सोलुखुम्बु : नेचा सल्यान गाउँपालिकामा सञ्चालित पाँचवटा स्वास्थ्य संस्थाहरु बन्द भएका छन् । गाउँपालिकाले यस अघि कार्यरत कर्मचारीको करार अवधि थप नगरेसंगै ती स्वास्थय संस्थाहरु बन्द भएका हुन् ।
नेचासल्यान गाउँपालिका वाड नंम्बर ३ मा संचालित नेचासल्यान अस्पताल आइतबार देखि बन्द गरिएको अस्पताल संचालक समितिका उपाध्यक्ष दोमराज बास्तोलाले जानकारी दिनुभयो । कोभिड अस्पताललाई नेचा सल्यान अस्पतालमा परिणत गरि संचालन गरिएको थियो ।
उक्त अस्पतालमा एक एम.बि.बि एस डाक्टर सहित २ अहेब, १ अनमी, १ ल्याब असिस्टेन्ट र २ जना कार्यालय सहयोगी कार्यरत रहेका थिए । ती सबै कर्मचारी करारका थिए ।
यस्तै प्राथमिक स्वास्थ्य केन्द्र नेचासल्यान २ को पनि आकस्मीक र प्रसूती बाहेकको सेवा बन्द भएको छ । त्यसैगरी वडानं १, ४ र ५ मा संचालित आधारभुत स्वाथ्य सेवा केन्द्रको सेवा पनि बन्द भएको छ । जनशक्ति अभावका कारण करारमा कर्मचारी व्यवस्थापन गरि सेवा प्रदान गरिएको थियो ।
स्वास्थ्य सेवामा मात्र २८ जना कर्मचारी करारमा कार्यरत थिए । करारका कर्मचारी हटाउने पालिकाको निर्णय फिर्ता लिन चौतर्फि दबाब बढेको छ । नेपाल निजामति कर्मचारी संगठन नेचा सल्यानले करारका कर्मचारी हटाउने निर्णय फिर्ता लिन बिज्ञप्ती मार्फत माग गरेको छ ।
गाउँपालिकाले शिक्षा र पंजिकरण बाहेकका कर्मचारीको म्याद थप नगर्ने निणर्य गरिपछि त्यसकोे विरोध भइरहेको छ ।
पंजिकरण शाखामा २ जना कर्मचारी कार्यरत रहेका छन् । जसमध्ये १ जना कर्मचारी नेपाली काँग्रेसको क्षेत्रीय प्रतिनिधी समेत रहेकोले पार्टीगत रुपमा कर्मचारी भर्नाको लागी म्याद थप नगरिएको आरोप लगाइएको छ । नेचा सल्यानमा जम्मा ६८ जना कर्मचारी करारमा कार्यरत रहेका छन् ।