धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ। बुधबार बसेको प्रदेशसभाको दोस्रो बैठकबाट बजेट बहुमतले पारित भएको हो।
प्रतिपक्षी दल एमाले र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरु बाहेक अन्यले बजेटको पक्षमा मत दिएका छन् । एमाले र जापानका सांसदले भने विपक्षमा मत दिएका थिए ।
असार १ गते प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले अगामी आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो । तर प्रतिपक्षी एमालेसँगै सत्तारुढ दलका प्रदेशसभा सदस्यहरुले बजेट संशोधनको माग गरेपछि २८ दिनसम्म प्रदेशसभा बैठक अवरुद्ध हुँदै आएको थियो ।
बुधबार एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक जनता समाजवादी पार्टीका माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको भन्दै १४ बुँदे सहमति गरेपछि प्रदेशसभा बैठक सुचारु भएको थियो ।
जवाफमा आर्थिक मामिलामन्त्री रावलले बजेटमा भएका कमीकजोरी सच्याएर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।