काठमाडौं: कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादवले मल कारखाना स्थापना गर्ने सबै प्रक्रिया उद्योग मन्त्रालयबाट हुने बताउनु भएको छ ।
मंगलबार भएको प्रतिनिधिसभाको बैठकमा सांसदले मन्त्रालयको बजेटमाथि उठाएको जफा दिने क्रममा उक्त कुरा बताउनु भएको हो । उहाँले मल अभावको दीर्घकालीन अभाव अन्त्यको पहिलो विकल्प मल कारखाना खोल्नु रहेको बताउनु भएको छ । नेपालमा वर्षैपिच्छे मलको अभाव हुने गरेको र त्यसको दीर्घकालीन समाधान खोज्नुपर्ने मन्त्री यादवको भनाइ थियो ।
उहाँले त्यसका तीन विकल्प रहेको संसद्लाई जानकारी दिनु भयो । उहाँले भन्नुभयो,मलको स्थायी निकास भनेको पहिलो मल कारखानाको स्थापना गर्ने हो; यसमा समय लाग्न सक्छ । दोस्रो, आयल निगमजस्तै व्यवस्था गर्नुपर्ने हुन्छ । तेस्रो, जीटूजी माध्यमबाट ल्याउने हो ।
मल कारखानाका लागि बजेट छुट्याइएको र यो उद्योग मन्त्रालयसँग सम्बन्धित विषय पनि उहाँले जानकारी गराउनु भयो । कृषि मन्त्रालय मलको लागि कारखाना स्थापना हुनुपर्ने तर उद्योग मन्त्रालयबाट समग्र प्रक्रिया अगाडि बढेको बताउनु भयो । मन्त्री यादवले किसानको क्षति अनुदानको जिम्मेवारी दिने काम गृह मन्त्रालयको भएको समेत बताउनु भयो । असार १५ गतेसम्म साल्ट ट्रेडिङबाट आउने मल नेपाल आइसक्ने मन्त्री यादवको दाबी छ ।